१३ बैशाख २०८१, बिहीबार

गाेल्डेन ग्लाेब विजेता आरआरआर , वालिवुडकाे चर्चा

चलचित्रको व्यावसायिक सफलता र चकाचौँध चर्चाले आरआरआरको गम्भीर सामाजिक–राजनीतिक विश्लेषणलाई ओझेलमा पारिदिएको छ

ओहो, आरआरआर ! अहिलेसम्म कुनै चलचित्रले आफैँमा यति धेरै चलचित्र गाँस्न सकेको थियो ? क्या रोमाञ्चक अनुभूति । दुई दिनअगाडि हेरेको, अझै पनि चलचित्रले मथिंगल हल्लाइरहेको छ ।’ ड्युन चलचित्रका लागि पटकथा लेखनीमा ओस्कार अवार्डका लागि मनोनीत जोन स्पाइत्सले गत जुलाईमा यो ट्विट् लेखिसक्दा आरआरआर (तेलगु) भारतभरिको ब्लकबस्टर चलचित्र बनिसकेको थियो र अमेरिकी दर्शकमाझ पनि कौतुहल बढाइरहेको थियो । ज्वारभाटाले सुनामीको रूप लियो जब अमेरिकी चलचित्र समालोचकले आरआरआरमा चासो दिन थाले । आरआरआरले अमेरिकामा उत्कृष्ट गीततर्फ गोल्डेन ग्लोब अवार्ड हात पार्दा सुनामीले भीमकाय रूप लियो ।

सन् २०२२ को सुरुवातमा रिलिज भएयता आरआरआरले सांस्कृतिक सीमालाई यसरी पगाल्यो, जसरी मैन आगोनजिक लगिँदा पग्लिन्छ । अमेरिकाका फिल्म हलमा नाचिरहेका दर्शकले खुसीले चिच्याइरहेका भारतीय फ्यानको झल्को दिन्थ्यो । अमेरिकी मिडियामा आएका समीक्षामा चलचित्रलाई ‘भिडलाई उचाल्ने ऊर्जा भएको’ (एनपिआर), ‘उत्कृष्टतामा अधिकता’ (न्युयोर्क टाइम्स) जस्ता विशेषणले भारतका समीक्षकको समीक्षालाई प्रतिबिम्बित गरेको थियो । भारतले दशकौँदेखि उत्कृष्ट संगीतकार एवं संगीत कलाकार उत्पादन गर्दै आएको छ । यो चलचित्रमा निर्देशक एसएस राजामौलीले थप उत्कृष्ट एवं बृहत् सांगीतिक खुराक पस्केका छन् ।

जब महामारीका समयमा उत्तर भारतीय दर्शक कोठामा थुनिएका थिए तब हिन्दी चलचित्रका दर्शकले अनलाइन स्ट्रिमिङ एपमा आफूइतरका भाषाका चलचित्र हेर्न थाले । त्यसैक्रममा दक्षिण भारतीय भाषाका चलचित्र मन पराउन थाले । यसकारण, आरआरआर (र अन्य दक्षिण भारतीय चलचित्र)ले काल्पनिकी एवं रचनात्मकता नभएका हिन्दी चलचित्रबाट वाक्कदिक्क भएका दर्शकको लाभ पायो ।

अमेरिकामा भने आरआरआरलाई त्यहाँको प्रचलित सुपर हिरो चलचित्रस्तरसँग मिल्ने जादुई तथा आकर्षक विचित्रता भएको भीमकाय चलचित्रका रूपमा मात्र लिइएन, बरु अमेरिकी दर्शकले यस चलचित्रमा पागलपन एवं धृष्टताको स्तरमा कैयौँ गुणा बढोत्तरी भएको पनि देख्न पाए । चलचित्रले वाहवाही कमाइरहँदा केहीले चलचित्रमा रहेको तथ्यको विकृतिकरण एवं जातीय राजनीतिप्रतिको असंवेदनशीलतालाई लिएर आलोचना नगरेका होइनन्, तर यी आलोचनाले भारत र अन्यत्र कहीँ पनि स्थान पाएन ।

राजामौलीले मिडियालाई बताएअनुसार आरआरआर दुई ऐतिहासिक व्यक्तित्व अल्लुरी सीतारामा राजु र कोमाराम भीमबीचको आख्यानात्मक सम्बन्धमा बनेको चलचित्र हो । कोमाराम आदिवासी गोन्ड समुदायका एक क्रान्तिकारी हुन् जसले हैदराबादका निजामको शोषणविरुद्ध संघर्ष गरेका थिए । वास्तवमा अल्लुरी र कोमारामको कहिल्यै भेट भएको थिएन । आरआरआरमा अल्लुरी सीतारामा राजु र कोमाराम भीमबीचको सम्बन्धलाई लिएर निर्माण गरिएको दृश्यात्मक कल्पनिकीमा कोमारामको चरित्रलाई अल्लुरीको चरित्रभन्दा तल्लो देखाइएको छ । यो चित्रणमा भारत र अन्यत्र थोरबहुत आलोचना गरिएको थियो । चलचित्रभरि अल्लुरीको माथिल्लो जातको चरित्रलाई बढी स्थान दिइएको छ ।

जब यी दुई नायकले अंग्रेजविरुद्ध प्रतिरोध गरेको देखाइयो, तब अल्लुरी सीतारामालाई धनुवाणबाट शत्रुलाई परास्त गर्ने रामका रूपमा देखाइयो भने कोमारामको चरित्र एवं प्रस्तुति हनुमानको जस्तो बनाइएको थियो । हनुमान एक त्यस्ता पात्र हुन् जसले राम र सीताको मिलनका लागि पहाड नै हत्केलामा बोकेका थिए । स्मरण रहोस्, अल्लुरीलाई चलचित्रमा राम भनेर चिनाइएको छ भने अल्लुरीकी ‘मंगेतर’लाई सीता नाम दिइएको छ । वास्तवमा आरआरआरमा आदिवासी नायकलाई जे भन्यो त्यो मान्ने एक भक्तका रूपमा प्रस्तुत गरिएको छ ।

क्रान्तिनायक कोमारामलाई संकीर्णता बाँधिएको एक आदिवासीका रूपमा प्रस्तुत गरिएको छ जब कि अल्लुरी सीतारामालाई यस्तो देवता बनाइएको छ जहाँ अल्लुरी बृहत् सोच राख्ने मुक्तिदाता बनेका छन् । चलचित्रको अन्त्यतिर अल्लुरी मानौँ आफ्नो बफादार भक्तलाई वरदान दिन्छु भनेझैँ कोमारामलाई ‘म तिम्रा लागि के गर्न सक्छु ?’ भनेर सोध्छन् ।

उत्तरमा कोमाराम भक्तिभावमा विभोर भई दुई हात जोड्दै ‘मेरो गुरु’ बन्नुस् भन्ने आशिष माग्छन् । त्यसपछि विजयोत्सव समारोहमा अल्लुरी आफू र कोमारामले उचालिरहेको झन्डामा रगतले जल, जमिन र जंगल लेख्छन् । एक माथिल्लो जातका व्यक्तिले आदिवासीको मुद्दालाई सहवरण गरेर सो मुद्दालाई आफ्नो देन बनाउने दृश्य बडो उदेकलाग्दो देखिन्छ । वास्तवमा जल, जमिन र जंगल कोमाराम भीमले ल्याएको नारा हो र अहिले पनि कोमारामको यो नारा मुलुकमा हुने आदिवासीको भूमिसम्बन्धी आन्दोलनमा प्रयोग भइरहन्छ ।

चलचित्रको व्यावसायिक सफलता र चकाचौँध चर्चाले आरआरआरको गम्भीर सामाजिक–राजनीतिक विश्लेषणलाई ओझेलमा पारिदिएको छ । बरु भारतीय सार्वजनिक बहस आरआरआरको सफलता भारतको समग्र चलचित्र उद्योगमा देखिने वा नदेखिने भन्नेमा केन्द्रित छ । यो बहस आरआरआर गाेल्डेन ग्लाेब अवार्डको अर्को विधा उत्कृष्ट गैरअंग्रेजी कथानक चलचित्रमा परेसँगै आएको हो । यो विधामा आरआरआर सफल भएन र यस विधामा अर्जेन्टिनाको अर्जेन्टिना १९८५ ले पुरस्कार हात पा¥यो, जहाँ तानाशाहमाथि गरिएको कारबाहीसँग जोडिएका सत्य घटनामा कथा बुनिएको थियो । पुरस्कार हात नपरे पनि आरआरआरले भारतीय चलचित्र परम्परा जोगाउँदै चलचित्रले वैश्विकस्तरमा (अमेरिकी समीक्षकको भूमिकाका कारण) गीत एवं नृत्य र चलचित्रमा जोडिएको दृश्य प्रविधि सिजीका कारण चर्चा बटुल्यो ।

कुनै वेलाका समानान्तर चलचित्रझैँ भारतका मध्यम एवं स्वतन्त्र चलचित्रले युरोपेली एवं अमेरिकी चलचित्र उत्सवमा ठाउँ पाइरहेका छन्, तर चर्चित पुरस्कार भने पाएका छैनन् । तसर्थ, आरआरआरले एक विधामा गाेल्डेन ग्लाेब अवार्ड जित्नुले स्वदेशी भारतीयमा पारेको प्रभावलाई सकारात्मक मान्न सकिन्छ । यस अवस्थामा भारतीय विविधतायुक्त चलचित्रमा बढी ध्यान दिने हो भने थप ओस्कार अवार्ड मनोनयनको अपेक्षा राख्नु स्वाभाविक हुनेछ ।

(पत्रकार एवं चलचित्र समीक्षक वेट्टीकाड द एडभेन्चर्स अफ एन इन ट्रेपिड फिल्म क्रिटिककी लेखिका पनि हुन्)
द टाइम्स अफ इन्डियाबाट

धेरै कमेन्ट गरिएका

ताजा उपडेट