१५ बैशाख २०८१, शनिबार

चीनमा संक्रमण बढ्दो , सेटिब्रिटीकाे मृत्युले झन त्रास

बेइजिङ । चीनमा पछिल्लो समय सेलिब्रेटीहरूको मृत्युको खबर बाहिरिएसँगै सर्वसाधारणमा कोभिडको त्रास बढेको जनाइएको छ । चीनकी चर्चित गायिका चु लानलानको डिसेम्बर अन्त्यमा ४० वर्षको उमेरमा मृत्यु भएको खबर बाहिरिएपछि अधिकांश आश्चर्यमा परेका थिए । सर्वसाधारणहरूले उनको निकै कम उमेरमा मृत्यु भएको र त्यसको कारण सम्भावित कोभिड संक्रमण हुन सक्ने आकलन गरेका जनाइएको छ ।

चुको परिवारले उनको ‘अप्रत्याशित मृत्युले निकै दुःखी तुल्याएको’ जनाएको भए पनि मृत्युको कारणबारे केही उल्लेख गरेको छैन । भाइरसको संक्रमण फैलिएसँगै ‘शून्य–कोभिड नीति’ अख्तियार गरेको चीनले गत डिसेम्बरमा लचिला नियमहरू ल्याएको थियो । त्यसयता चीनमा भाइरसको संक्रमण तथा मृत्युदर ह्वात्तै बढेको जनाइएको छ ।
पछिल्लो समय अस्पतालहरूमा संक्रमितको भीड बढेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालहरूका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दाबी छ ।

चीनले भने पछिल्लो समय संक्रमित र ज्यान गुमाएकाहरूबारे तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ । डिसेम्बरयता २२ जनाले भाइरसको संक्रमणबाट ज्यान गुमाएका चिनियाँ अधिकारीहरूको भनाइ छ ।
डब्लूएचओले चीनमा बढिरहेको संक्रमण ‘चिन्ताजनक’ भएको जनाउँदै संक्रमणको गम्भीरता, अस्पताल भर्ना दर र आईसीयूको आवश्यकताबारे तथ्यांक उपलब्ध गराउन चीन सरकारसँग पटक–पटक आग्रह गरिसकेको छ ।

त्यसका साथै, भाइरसविरुद्धको खोपको प्रयोग व्यापक पार्न संगठनले चीन सरकारसमक्ष माग गरेको छ । तर चु लगायत सेलिब्रेटीको मृत्युले भने चीनमा सरकारी अधिकारीले जनाएको भन्दा भयावह स्थिति रहेको दाबी गरिएको छ । नयाँ वर्षको दिनमा अभिनेता गोङ्ग जिन्ताङको पनि मृत्यु भएको थियो । ८३ वर्षीय गोङ्ग चीनकै लामो टेलिभिजन शृंखला ‘इन–लज, आउट लज’ बाट निकै लोकप्रिय भएका थिए । उनको मृत्युको अझैसम्म प्रस्ट भइसकेको छैन, तर सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यसलाई कोभिड संक्रमणसँग जोडेका छन् ।

‘हे भगवान्, वृद्ध मानिसहरूको राम्रोसँग उपचार गर,’ गोङ्गसँगै काम गरेका हु यानफेनले चिनियाँ सामाजिक सञ्जाल विबोमा लेखेका छन् । त्यस्तै, चर्चित पटकथा लेखक नी झेनको पनि ८४ वर्षको उमेरमा सोमबार मृत्यु भएको छ । पूर्व पत्रकार तथा नान्जिङ विश्वविद्यालयका पूर्वप्राध्यापक हु फुमिङ पनि हालै ज्यान गुमाउनेमध्येमा छन् । डिसेम्बर २१ देखि २६ सम्म १६ जना वैज्ञानिक तथा इन्जिनियरहरूले ज्यान गुमाएका बताइएको छ । तर उनीहरूमध्ये कसैको पनि कोभिडका कारण मृत्यु भएको जनाइएको छैन । पछिल्लो समय भाइरसको संक्रमण फैलिएसँगै अमेरिका, भारत, जापान भारतलगायत देशले चीनबाट आउने यात्रुहरूका हकमा कडा नियम जारी गरिसकेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट