नेपाल–भारत संयुक्त सैन्य अभ्यास

सेयर गर्नुहोस

काठमाडौँ ।
नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६औं संस्करण शुक्रबारदेखि नेपालमा सुरु भएको छ। रूपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालित तालिमको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथि यामप्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरेका छन्।

दुई हप्तासम्म चल्ने संयुक्त सैन्य अभ्यासका क्रममा नेपाली सेना र भारतीय सेनाका सहभागीले अन्तर सैन्य युद्घ क्षमतालाई सुदृढ बनाउँदै प्रतिविद्रोह तथा मानवीय सहायता एवं विपद् राहत अपरेसनबारे अनुभव साटासाट गर्नेछन्।

अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिबारे एकअर्कालाई परिचित गराउनेछन्। योे हिमाली भूभागमा प्रतिविद्रोह वातावरणमा काम गर्दा निकै उपयोगी साबित हुने जनाइएको छ। अभ्यासको दायरा र स्तरलाई थप वृद्घि गर्न दुवै सैन्य टोलीलाई मानवीय सहायता तथा विपद् राहत, हाई अल्टिच्युड वारफेर र जंगल वारफेर अपरेसनमा दक्ष बनाउने गरी अभ्यास गराइनेछ।

तालिममा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना सैनिक सहभागी छन् भने भारतीय गोरखा रेजिमेन्टबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना भारतीय सैनिक सहभागी छन्। प्रतिविद्रोह वातावरणमा दुवै सेनाको प्रदर्शनलाई मान्यता दिन ४८ घन्टे कडा अभ्याससँगै पुस १४ गते संयुक्त सैन्य अभ्यास सम्पन्न हुनेछ। २०६७ सालदेखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको सूर्य किरणको १५औं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।

काठमाडौंमा भारतीय सैन्य टोली
भारतीय सेनाका ‘आर्मी ट्रेनिङ कमान्ड चिफ अफ स्टाफ’ लेफ्टनेन्ट जनरल जेएस सन्धुसहितको टोली आइतबार काठमाडौं आएको छ।

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहका बैठकमा सम्झौता भएअनुसार स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गर्न भारतीय सेनाका उच्च अधिकारीहरूको टोली यहाँ आएको नेपाली सेनाले जनाएको छ।

सम्झौतामा दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरूले एकअर्काको देशको स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गर्ने उल्लेख छ।

भ्रमण दललाई सेनाको नं.१४ बाहिनीका बाहिनीपति सहायक रथी विनोद खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। पुस ९ गतेसम्म हुने भ्रमणका क्रममा लेफ्टनेन्ट जनरल सन्धुले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने छन्।

त्यस्तै भारतीय टोलीले कमान्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पश्चिम पृतना हेडक्वार्टर, नेपाली सैनिक व्याटल स्कुल तथा धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ।

Facebook Comments Box