चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेपछि चीनद्वारा अमेरिकाको विरोध

सेयर गर्नुहोस

एजेन्सी ।
अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ। अमेरिकी कारबाहीको जवाफमा आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवं हित प्रवर्द्धनमा दृढताका साथ आवश्यक कदम चाल्ने चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।

चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन्। अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए।

अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्यशक्ति प्रयोग गरेको, विश्वबजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको उनको आरोप छ।

अमेरिकाले चिनियाँ कम्पनीलाई बारम्बार तथाकथित सूचीमा समावेश गर्दा चिनियाँ र अमेरिकी कम्पनीहरूबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यमा बाधा पुग्ने, त्यो बजारको नियमविपरीत हुने तथा अन्तर्राष्ट्रिय आर्थिक एवं व्यापार व्यवस्थालाई कमजोर बनाउने बताउँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले विश्वव्यापी औद्योगिक एवं आपूर्ति शृंखला, विश्वशान्ति र विकासमा अवरोध सिर्जना गर्ने जनाएका छन्।

अमेरिकी कदम चीन र अमेरिकाका लागि मात्र नभई समग्र विश्वको निम्ति पनि अनुपयुक्त भएको उनले बताए। निकासी नियन्त्रण निष्पक्ष, तर्कसंगत र भेदभावरहित ढंगले हुनुपर्ने, विकास प्रवर्द्धन गर्न वैज्ञानिक एवं प्राविधिक उपलब्धिहरूको युक्तिसंगत प्रयोग हुनुपर्नेमा जोड दिँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले प्रविधि आदान–प्रदान, व्यापारमा सहयोग तथा विश्वव्यापी आपूर्ति शृंखलालाई निरन्तरता दिनुपर्ने बताएका छन्।

Facebook Comments Box