झलनाथ खनाललाई एमालेका बस्नेत र कांग्रेसका बागी चुनौती

सेयर गर्नुहोस

इलाम – इलामबाट निर्वाचित भएर प्रधानमन्त्री समेत बनेका झलनाथ खनाल यस पटक पनि चुनावी मैदानमा हुनुहुन्छ । एमालेबाट उम्मेदवार भएर पटक पटक चुनाव जितेका खनाल यस पटक भने गठबन्धनको मतले चुनाव जित्ने दाउमा हुनुहुन्छ । तर सधैँको जस्तो चुनाव जित्न भने उहाँलाई सहज देखिँदैन ।

स्थानीय चुनावमा इलामको माईजोगमाई गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष पराजित बनेपपछि कांग्रेसप्रतिको असन्तुष्टि र जिल्ला समन्वयमा एमालेसँग गरेको तालमेलका कारण कांग्रेस रुष्ट छ भने धेरैजसोले चुनाव जितेर पनि जिल्लाको विकासमा ध्यान दिन नसकेको भन्दै विकल्प खोजी रहेका छन ।

२०४६ सालको परिवर्तनपछि २०४८ र २०५१ सालका संसदीय चुनावमा विजयी भएका खनाल २०५६ सालको चुनावमा नेपाली कांग्रेसका बेनुप प्रसाईसँग पराजित हुनुभएको थियो । २०६४ र ०७० सालको संविधान सभा चुनाव तथा ०७४ सालको प्रतिनिधि सभा सदस्य चुनावमा खनाल इलाम १ बाट विजयी हुनुभयो । सैद्धान्तिक रूपमा आफ्नो दृष्टिकोण स्पष्ट राख्ने भए पनि आफूनिकट नेता–कार्यकर्ता ‘व्यवस्थापन’ गर्न नसकेको आरोप खेपिरहेका खनालका लागि यो चुनाव चुनौतीका रूपमा रहेको छ ।

खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा नेकपा (एमाले) जिल्ला अध्यक्ष महेश बस्नेत खनालका प्रतिस्पर्धी उम्मेदवारका रूपमा हुनुहुन्छ । बस्नेत एमालेभित्र प्रभावशाली नेता र ‘चुनावी खेलाडी’ नेताका रूपमा चिनिएका भएकाले खनाललाई ‘धक्का’ दिने मतदाताको विश्लेषण छ । २०७४ सालको पालिका चुनावमा कांग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यलाई पराजित गरी बस्नेत इलाम नगरपालिकाको मेयर बन्नुभएको थियो । २०५४ सालको चुनावमा पनि इलामकै मेयरमा कर्माचार्यलाई पराजित गरेका बस्नेतको राजनीतिमा अहिलेसम्म हार देखिँदैन ।

अर्कोतिर कांग्रेस नेता विक्रम पाण्डेको उम्मेदवारीले क्षेत्र नम्बर १ को सत्ता गठबन्धनभित्र तरङ्ग ल्याइरहेको छ । कांग्रेसले आफ्नो उम्मेदवार नपाएपछि बागी उम्मेदवार विक्रम पाण्डेलाई सहयोग गर्ने देखिएका कारण पनि खनालको राजनीतिमा यो पटकको चुनाव महत्त्वपूर्ण मानिएको छ ।

इलाम क्षेत्र १ बाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (वीपी)का गणेशप्रसाद पौडेल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको पनि उम्मेदवारी छ ।

Facebook Comments Box