भारतीय प्रधानमन्त्री माेदीद्वारा ५–जी सेवाकाे विधिवत उद्घाटन
नयाँदिल्ली। भारतमा ५–जी मोबाइल सेवा सुरु भएको छ । शनिबार नयाँदिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस, २०२२’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् । हाललाई भारतका ८ सहरमा सेवा उपलब्ध गराइएको छ ।
५–जी मोबाइल सेवा सुरु भएसँगै अब मुलुकभर उच्च गतिको इन्टरनेट सुविधा दिन बाटो खुलेको छ । भारत सरकारले आगामी वर्षसम्म ५–जी सेवालाई मुलुकभर नै विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । दूरसञ्चार कम्पनी एयरटेलले शनिबारदेखि नै दिल्ली, मुम्बई, बेंगलुरु, वाराणसीलगायत ८ सहरमा ५–जी सेवा दिन सुरु गरेको छ । ‘सन् २०२४ मार्चसम्ममा हामी मुलुकरभर सेवा विस्तार गरिसक्नेछौं,’ एयरटेल अध्यक्ष सुनील मित्तलले भने ।
५–जी सेवा सुरु भएसँगै हाल उपलब्ध इन्टरनेटको गतिमा दस गुणासम्मले वृद्धि हुने बताइएको छ । यो सेवा अटोमेसन, ई–मेडिसिन, शिक्षा, ग्रामीण विकास, कृषिलगायत क्षेत्रलाई माथि उकास्न निकै फलदायक सावित हुने दाबी गएिएको छ । मुलुकभर इन्टरनेटमा आधारित सुशासन कायम गराउन पनि सहज हुनेछ । इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स उद्योगलाई फाइदा पुग्नुका साथै स्वास्थ्य सेवा, भर्चुअल रियालिटी, क्लाउड गेमिङलगायतका लागि पनि बाटो फराकिलो बन्नेछ । ५–जी सेवाका उपभोक्ताले ४–जीको भन्दा १० देखि २० गुणासम्म बढी डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन् । हाल सञ्चालनमा रहेका ४–जी र ३–जी सेवा भने नरोकिने भारत सरकारले स्पष्ट पारेको छ ।
