पर्यटक आगमन लयमा फर्कँदै, सबैभन्दा बढी भारतीय

सेयर गर्नुहोस

कोभिड–१९ महामारीले थलिएको पर्यटक आगमन क्रमशः लयमा फर्किँदै गएको छ । महामारीले सबैभन्दा बढी प्रभाव पारेको पर्यटक आगमन पछिल्लो समय क्रमशः लयमा फर्कँदै गएको हो ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमनको तथ्यांकअनुसार सन् २०२२ को (जनवरीदेखि अगस्ट) ८ महिनामा हवाईमार्गबाट तीन लाख २६ हजार ६ सय ६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अगस्ट महिनामा मात्रै ४१ हजार तीन सय चारजना विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । कोरोनाभन्दा अघि सन् २०१९ को अगस्ट महिनामा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारी सुरु भएपछि सन् २०२० को अगस्ट महिनामा दुई सय ५६ जना र सन् २०२१ को अगस्ट महिनामा पाँच हजार नौ सय १७ जना पर्यटक नेपाल आएका थिए ।

ad
सन् २०१९ को अगस्टको तुलनामा २०२२ को अगस्टमा पर्यटक आगमनमा ५६ प्रतिशतले सुधार देखिएको छ । सन् २०२२ को जनवरीदेखि अगस्टसम्मको आठ महिनामा नेपाल आउने पर्यटकको संख्यामा ५५ प्रतिशतले सुधार भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

कुन महिनामा कति पर्यटक भित्रिए ?
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार ६, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७, जुलाईमा ४४ हजार चार सय ६२ जना र अगस्टमा ४१ हजार तीन सय चारजना पर्यटक नेपाल भित्रिएका छन् ।

सबैभन्दा बढी भारतीय
नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतका रहेका छन् । सन् २०२२ को अगस्ट महिनामा नेपाल भित्रिएका पर्यटकमध्ये ३९ दशमलव १ प्रतिशत भारतीय रहेको तथ्यांक छ । भारतबाट १६ हजार एक सय ४७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी दोस्रोमा अमेरिकाबाट चार हजार ६६ जना पर्यटक नेपाल भित्रिएका छन् । युकेबाट दुई हजार आठ सय २६ जना पर्यटक नेपाल भित्रिएका छन् । बंगलादेशबाट एक हजार सात सय ५१ जना पर्यटक नेपाल भित्रिएका छन् भने चीनबाट एक हजार दुई सय ८९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

गएको अगस्ट महिनासम्म वर्षायामको समय रहेको थियो । वर्षायाममा पर्यटक आगमन कम हुने गरेको छ । सेप्टेम्बर महिना सुरु भइसकेको छ । अब वर्षा कम हुने, पर्यटक आगमनको सिजन सुरु हुने भएसँगै पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको पर्यटन बोर्डका निर्देशक लामिछानेले बताए ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट सुरु भएको कोभिड–१९ ले विश्वव्यापी रूपमा महामारीको रूप लिएपछि नेपालका सबै पर्यटकीय गन्तव्य त्यसको चपेटामा परे । जसकारण पर्यटन क्षेत्रमै निर्भर स्थानीय उद्यमी र व्यवसायी नराम्रोसँग प्रभावित भएका छन् । प्रभावित भएको पर्यटन व्यवसाय पुरानो अवस्थामा फर्कने अपेक्षा गरेको व्यवसायीहरूले बताएका छन् ।

Facebook Comments Box