चिनियाँ सत्तालाई गोर्भाचेभको डर
तत्कालीन रुसलाई देखाएर चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई स्पष्ट सन्देश दियो- लोकतन्त्रभन्दा अर्थतन्त्रलाई महत्व दिनु नै सही बाटो हो
एक समय, पश्चिममा सुधारवादीजस्ता देखिने चीनका नेताको प्रशंसाका लागि प्रयोग हुने उच्च आदरार्थी पदावलीका रूपमा ‘चीनका गोर्भाचेभ’ प्रयोग गर्ने चलन नै बसेको थियो । उनीहरूलाई यो उपमा चिनियाँ नेताहरूलाई पनि मन पर्छ भन्ने भ्रम थियो । यस्तो धारणा व्याप्त भएको समयतिरै सन् १९९० को जुलाईमा सांघाईका तत्कालीन मेयर झु रोङजी अमेरिका भ्रमणमा गएका थिए । केही अमेरिकीले उनलाई ‘चीनको गोर्भाचेभ’ भनिदिए । प्रस्ट बोल्ने नेताको परिचय बनाएका यी भावी प्रधानमन्त्रीलाई उक्त उपमा मन परेन । उनले सीधै भनिदिए, ‘म चीनको गोर्भाचेभ होइन, म चीनको झु रोङजी हुँ ।’
सन् १९९० को दशकमा चीनमा महत्वपूर्ण सुधार लागू गर्ने रोङजीले पछि चीनलाई विश्व व्यापार संगठनमा सामेल गराउने प्रयासको अगुवाइ गरेका थिए । उनले सोभियत संघका अन्तिम सोभियत नेता मिखाइल गोर्भाचेभका बारेमा के सोच्दथे भनेर कहिल्यै खुलाएनन् । त्यसैले त्यो कुरा अब कहिल्यै थाहा हुनेछैन । तर, के कुराचाहिँ निश्चितताका साथ भन्न सकिन्छ भने चिनियाँ कम्युनिस्ट पार्टीका अधिकांश नेताहरूको नजरमा गोर्भाचेभ सोभियत संघ पतन गराउने एक अक्षम्य अपराधी थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीले गोर्भाचेभको आलोचना गर्नुपर्ने अन्य व्यावहारिक कारण थिएन । गोर्भाचेभको ६ वर्षको शासनकालमा चीन–सोभियत संघबीचको तनावपूर्ण सम्बन्धमा नाटकीय सुधार भएको थियो । सोभियत संघको पतन चीनका लागि भूराजनीतिक वरदान साबित भएको थियो । सोभियत संघको पतनपछि चीनले उत्तरबाट महसुस गर्ने खतरा रातारात गायब भयो । सोभियत संघको पतनकै कारण स्वतन्त्र बनेको मध्य एसिया अहिले उसका लागि शक्ति प्रक्षेपण गर्ने क्षेत्र बनेको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, गोर्भाचेभको समेत प्रयासमा शीतयुद्ध अन्त्यपछिको तीन दशक चीनको आर्थिक वृद्धिका लागि स्वर्णयुग रह्यो । पूर्वसोभियत नेता गोर्भाचेभप्रति चिनियाँ कम्युनिस्ट पार्टीको घृणा भावको एउटै व्याख्या पूर्वसोभियत संघमा गोर्भाचेभले सुरु गरेको ‘ग्लास्नोस्ट’ र ‘पेरेस्ट्रोइका’ले जे हासिल गर्यो त्यसप्रतिको डर हुन सक्छ । गोर्भाचेभले सुरु गरेको सुधारकै कारण कुनै समयको शक्तिशाली सोभियत संघ विघटन भएको थियो ।
चिनियाँ शासकहरूका लागि सोभियत संघको पतन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जस्तो २०औँ शताब्दीको ‘सबैभन्दा ठूलो भूराजनीतिक दुर्घटना’ मात्रै थिएन, तिनका लागि सोभियत संघको पतन यस्तो वैचारिक दुर्घटना थियो, जसले उनीहरूको भविष्यमाथि खतरा उत्पन्न गरेको तिनको बुझाइ थियो ।
गोर्भाचेभले सोभियत साम्राज्यको पतनमा लाहा छाप लगाएको तीन दशक कटिसक्दासमेत चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)लाई त्यस घटनाले अझै आघात पुर्याइरहेको प्रमाण अहिले पनि देख्न सकिन्छ । फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रोपागान्डाकारीले ‘ऐतिहासिक शून्यवाद र सोभियत संघको विघटन’ नामक वृत्तचित्र देखाएका थिए । एक सय एक मिनेट लामो वृत्तचित्रमा सोभियत कम्युनिस्ट पार्टीले कडा सेन्सरसिप लागू गर्न असफल भएको बताएको छ । विशेषतः इतिहास र उदारवादी पश्चिमा विचार नियन्त्रण गर्न नसक्नु संघको असफलताको कारण बताइएको छ ।
सोभियतको पतनप्रति चिनियाँ कम्युनिस्ट पार्टीको यति धेरै ध्यान अनौठो लाग्छ । जब सिपिसीले विगत तीन दशकसम्म पाएको सफलताले उसको नियति सोभियत संघजस्तो हुन रोकिएको छ । सिपिसीको सबैभन्दा ठूलो उपलब्धि चिनियाँ जनताको जीवनस्तर निरन्तर उक्सिन थाल्यो । यसैको माध्यमबाट उसले शासनको वैधानिकता पाइरहेको छ । सोभियत संघको पतन भएको दुई महिनापछि, ८७ वर्षीय देङ सियाओपिङले मत्थर हुँदै गएको सुधारलाई पुनः सुचारु गरी सबैभन्दा बढी आर्थिक विकासलाई जोड दिन लगाएर निराश पार्टीमा उत्साह भरेका थिए ।
कमै चर्चा हुने सिपिसीको अर्को सफलता गोर्भाचेभजस्ता सुधारकलाई पार्टीभित्र उठ्न नदिनु नै मुख्य कारण रह्यो । सोभियत संघको विघटनपछि सिपिसीले आफ्ना भावी नेताहरूलाई अत्यन्त सावधानीपूर्वक जाँच्न सुरु गरेको थियो । यसमा राजनीतिक बफादारी अनिवार्य सर्त रहने गरेको छ । सन् १९९० को दशकमा पूर्वसोभियत संघका सदस्य मुलुक अराजकता र आर्थिक संकटको चपेटामा परेपछि पार्टीले त्यसलाई देखाएर मानिसलाई सचेत गराउन थाल्यो । तत्कालीन रुसलाई देखाएर चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई एउटा स्पष्ट सन्देश दियो कि लोकतन्त्रभन्दा अर्थतन्त्रलाई महत्व दिनु नै सही बाटो हो ।
सोभियत संघ पतनपछिको दशकमा सिपिसीको प्रभावशाली उपलब्धिको बाबजुद, यो अझै पनि गोर्भाचेभको विरासतबाट भयभीत हुन्छ । कसैले तर्क गर्न सक्छन्, एकात्मकतावादी सत्ता सधैँ असुरक्षाको भावनामा रहन्छन् । तर, चीनका शासकहरू भने त्योभन्दा फरक तथ्य प्रमाणित गर्न कटिबद्ध देखिन्छन् ।
सन् १९९० को दशकमा सिपिसीको शीर्ष नेतृत्वले सोभियत संघ पतनको कारण खोज्न प्राज्ञिक अध्ययनको एउटा शृंखला नै सुरू गर्यो । यस बौद्धिक प्रयासमा सम्मानित प्राज्ञ र पार्टीका बयोवृद्ध नेताहरू दुवै समावेश थिए । उनीहरूबीच न्यून विवादास्पद कारकमा एकमत थियो । जस्तै कमजोर आर्थिक व्यवस्थापन, संयुक्त राज्य अमेरिकासँगको हतियारको दौड, साम्राज्यवादी प्रभाव विस्तारमा जोड, र गैररुसी गणतन्त्रमा जातीय राष्ट्रवाद हाबी हुनुजस्तो विषय यसअन्तर्गत पर्थे । यस विषयमा गोर्भाचेभको भूमिकाप्रति उनीहरूले कठोर समीक्षा गरे ।
तर, विमतिको विषय सोभियत संघको पतमा मूल रूपमाको जिम्मेवार भन्ने विषयमा उठ्यो । अध्ययनमा सिपिसीका वरिष्ठ नेताहरू सोभियत संघको पतनका लागि मुख्यतः गोर्भाचेभ जिम्मेवार भएको निचोडमा पुगे । गोर्भाचेभले ल्याएका योजनाले सत्तामा कम्युनिस्ट पार्टीको पकड कमजोर बनेको तिनको विचार रह्यो । तर, सोभियत संघका प्राज्ञहरू यस विचारमा सहमत भएनन् । तिनले संघको विघटनको मुख्य दोष गोर्भाचेभका पूर्ववर्तीहरू, त्यसमा पनि विशेषतः सन् १९६४ देखि सन् १९८२ बीच शासन गरेका लियोनिद ब्रेझनेभलाई दिए । ब्रेझनेभ युगको राजनीतिक स्थिरता र आर्थिक गतिहीनताले शासन संयन्त्रभित्रैबाट कमजोर भएको तिनको विचार रहेको थियो । आज, सोभियत संघको पतनबारे चिनियाँ आधिकारिक दृष्टिकोण र गोर्भाचेभप्रति घृणाभाव हेर्दा अध्ययनमा सहभागी पार्टी नेताको विचारले जितेको थाहा हुन्छ । यसले चिनियाँ नेताहरूले इतिहासबाट सही पाठ सिकेकोमा शंका हुन्छ ।
(क्लेयरमोन्ट म्याकेन्ना कलेजका प्राध्यापक मिनछिन पेई अमेरिकास्थित जर्मन मार्सल फन्डका सिनियर फेलो हुन् ।)
प्रोजेक्ट सिन्डिकेटबाट
