ताइवान सेनाले ड्राेन खसालेपछि तनाव बढ्याे

सेयर गर्नुहोस

काठमाडौं । बिहीबार ताइवानको सेनाले पहिलो पटक आफ्नो आकाशमा प्रवेश गरेको एक ड्रोनलाई खसालेको छ । यस्ता घुसपैठविरुद्ध कडा कदम चाल्ने ताइवान सरकारको चेतावनीपछि चिनियाँ तट नजिकै रहेको आफ्नो टापुको आकाशमा प्रवेश गरेको ड्रोन खसालेको हो ।
ताइपेई सरकारको कडा आपत्तिको बिरूद्ध ताइवानलाई आफ्नै भएको दाबी गर्ने बेइजिङले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको भ्रमणको प्रतिक्रियामा गत महिनादेखि टापु वरिपरि सैन्य गतिविधि बढाएको छ ।

ताइवानले तनावलाई उक्साउने वा बढाउने काम नगर्ने बताएको छ । तर, चिनियाँ आक्रामकता बढेसँगै ताइवान स्ट्रेटमा तनाव बढेको छ ।

ताइवानको किनमेन टापुका रक्षा कमाण्डले विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तीमा बिहीबार आफ्नो आकाशमा आएको ड्रोन खसालेको बताएका हुन् ।

टापुमा रहेका सेनाहरूले यसलाई चेतावनी दिने प्रयास गर्दा कुनै प्रतिक्रिया नआएपछि उक्त ड्रोनलाई गोली हानेर खसालिएको र त्यसका अवशेषहरू समुद्रमा खसेको विज्ञप्तीमा उल्लेख छ ।

ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले चिनियाँ उत्तेजकताको विरुद्धमा सेनालाई कडा प्रतिकार्य गर्न आदेश दिएपछि ताइवानले मंगलबार पहिलो पटक चिनियाँ ड्रोनमा चेतावनीमूलक गोली प्रहार गरेको थियो।

चीनको परराष्ट्र मन्त्रालयले सोमबार ड्रोनको बारेमा ताइवानको गुनासो हल्ला मात्रै भएको टिप्पणी गरेको छ । ड्रोन खसालेको बिषयमा चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया आउँन बाँकी छ ।

Facebook Comments Box