आमिर ब्रान्डको पतन !
दक्षिण दिल्लीमा अस्वाभाविक ढंगले चकमन्न रहेको हलमा स्वतन्त्रता दिवसका अन्तिम पल हलिउड सिनेमा ‘फरेस्ट गम्प’को हिन्दी रूपान्तरण ‘लालसिंह चड्ढा’ हेरेर बिताइयो । चलचित्रमा केन्द्रीय पात्र लालसिंह चड्ढा पछिल्लो आधा शताब्दीका ऐतिहासिक घटनाक्रमलाई कसरी छिचोल्दै आए भन्ने देखाउँछ, तर यो कथाभन्दा हलका खाली कुर्चीले नै धेरै कुरा बताइरहेको छ । एक दशकअगाडि आमिर खानमा मध्यम वर्गलाई चुम्बकझैँ तान्ने ब्रान्ड अपिल थियो र त्यसवेला यो चलचित्र प्रदर्शन भएको भए सम्भवतः सुपरहिट पनि हुन्थ्यो होला । तर, लालसिंह चड्ढाको अधोगतिले आमिर ब्रान्डको अन्त्य भएको जनाउ दिन्छ ।
कुनै समय थियो जब आमिर खानलाई चर्चित अमेरिकी टिभी प्रस्तोता ओप्राह विन्फ्रेसँग तुलना गर्न सकिन्थ्यो । आमिर खान सन् २००६को ‘रंग दे वसन्ती’देखि सन् २०१४को ‘पिके’ चलचित्रबीचको आठ वर्षका दौरानमा मध्यम वर्गका दर्शकका लागि मसिहा बराबर थिए । यो समयको उत्कर्षलाई सन् २०१२ देखि २०१४ सम्मको आमिरको टिभी कार्यक्रम ‘सत्यमेव जयते’ले प्रतिनिधित्व गरेको थियो, जयतेले दर्शकका आकांक्षा, आक्रोश र आदर्श एवं भयलाई प्रतिनिधित्व गथ्र्यो ।
सन् २००० को पहिलो दशकपछि भारतका मध्यम वर्ग राजनीतिक व्यवस्थालाई लिएर बेचैन थियो । यो अवस्थामा मध्यम वर्गको लोकतन्त्र सम्बन्धित चासो दुई ढंगले प्रस्फुटन हुन्थ्यो । पहिलो प्रस्फुटन हिन्दू बहुसंख्यकवाद थियो । बाबरी मस्जिद भत्काइएपछि हिन्दू मध्यम वर्गमा रहेको धर्म निरपेक्षताको वैचारिकीलाई बिस्तारै हिन्दुत्वले प्रतिस्थापन गर्दै गयो । राजनीतिक रूपमा यो प्रतिस्थापन कांग्रेसको सट्टामा भारतीय जनता पार्टीको उदयले पुष्टि हुन्छ ।
दोस्रो, राजनीतिविरोधी मत हो जसलाई मूलतः भारतका लालची राजनीतिक सम्भ्रान्तले बोक्ने गर्थे । यो मत तब उत्कर्षमा पुग्यो जब अन्ना हजारे नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलनमा बलिउडका केही हस्ती सहभागी भएका थिए, जहाँ आमिरले पनि खुलेरै हजारेलाई समर्थन गरेका थिए । राजनीतिलाई द्वन्द्व, विभाजन, सम्झौता र भ्रष्टाचारको बिउ देख्ने मध्यम वर्गको विचार ब्रान्ड छवि बनाएका आमिरसँग घुलिन पुग्यो । भारतको समस्याका लागि राजनीतिलाई नभई प्राविधिक विशेषज्ञता, उद्यमी व्यक्तिवाद र इमान्दारी एवं निष्ठाजस्ता नैतिक मूल्य मान्यताको कमीलाई जिम्मेवार ठह¥याइयो । र, अन्ततः आम आदमी पार्टी यो वैचारिकीको वाहन बन्न पुग्यो ।
त्यो कालको कृत्रिम प्रगतिशीलताले ‘रंग दे बसन्ती’ चलचित्र जन्मायो, जहाँ सहरी क्षेत्रका हुनेखाने युवा एक भ्रष्ट नेताको प्रतीकात्मक हत्या गरेर राष्ट्रलाई उद्धार गरेको देखाइयो । त्यो चलचित्र मध्यम वर्गका लागि सबैभन्दा उत्कृष्ट चलचित्र थियो, जहाँ यो वर्गलाई भगत सिंहको क्रान्तिकारी हिंसाको रोमाञ्चकतामा दौडाइएको थियो तर जात, वर्ग एवं राजनीतिमा भगत सिंहले दिएका क्रान्तिकारी सन्देशको भारबाट मुक्त गराइदिएको थियो ।
शक्ति पदानुक्रमलाई मूलतः बेवास्ता गर्दै आमिर खानले ‘सत्यमेव जयते’का माध्यमबाट ‘रंग दे बसन्ती’झैँ मूल्य–मान्यता उराल्ने प्रयास गरेका थिए । ‘सत्यमेव जयते’ जात आधारित विभेद, लिंग चयनात्मक गर्भपतन, बाल यौन दुराचार, दाइजो, जनस्वास्थ्यलगायतका सामाजिक मुद्दामा सचेतना बढाउने र सामाजिक हस्तक्षेप प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको थियो । निःसन्देह गम्भीर सामाजिक मुद्दाको चयन गरिएका थिए, तर कार्यक्रम असत्यविरुद्ध सत्यको कृत्रिम नाटकीयताभन्दा बाहिर जान सकेन ।
एक समीक्षकका भाषामा भन्ने हो भने आमिर ‘राम वा युधिष्ठिर थिए जसले विना कुनै बाधा–अड्चन अन्यायको संहार गर्थे ।’ अथवा आमिर ‘थ्री इडियट’को ¥यान्चो वा ‘पिके’का एलियन बनेका थिए जो ठुल्ठूला सामाजिक संस्थालाई उत्कृष्ट तर्क वा स्वच्छ मनका माध्यमबाट परिवर्तन गर्ने साहसी प्रयास गर्थे । यी दुवै चलचित्र ‘रंग दे बसन्ती’का तुलनामा सामाजिक–राजनीतिक आयामको कोणबाट हेर्दा खासै संस्थापनविरोधी थिएनन् बरु खराब व्यक्तिविरुद्ध केन्द्रित थिए ।
अध्येता पौला चक्रवर्ती र श्रीला सरकारका अनुसार ‘सत्यमेव जयते’ कार्यक्रमले ‘भारतीय मध्यम वर्गीय उद्यमीका उत्कृष्ट काम’ र ‘असक्षम एवं भ्रष्ट सरकारको असफलता’लाई दाँजिएको थियो । त्यसबाहेक अध्येताद्वयका अनुसार यो कार्यक्रमले सामाजिक कुरीतिका ‘आत्मरतियुक्त समाधान दिएको थियो,’ जहाँ राजनीतिक संघर्ष वा समकालीन भारतका लैंगिक एवं यौनिक मूल्य–मान्यताजस्ता जटिल सामाजिक मुद्दाका बारेमा हुने कुनै पनि किसिमको बहसलाई ठाउँ दिएको थिएन ।
आमिर खान ब्रान्डले पस्किने सहज प्रगतिशीलताप्रतिको सम्मोहन एक भ्रममा आधारित थियो, जहाँ मध्यम वर्ग नैतिक सर्वोच्चताको भण्डार नै आफूमा निहित रहेको र भारतका सारा समस्या आफ्नो वर्गभन्दा बाहिरबाट सिर्जना भएको ठान्थ्यो । जब कि मध्यम वर्ग जात एवं वर्ग विशेषाधिकारको मिश्रणको लाभ उठाइरहेका थिए र यसले आधुनिक विश्वसँग खासै सम्बन्ध राख्दैनथ्यो । र, यही मध्यम वर्ग सन् १९९१ पछि मुलुक पुँजीवादी सञ्चितीकरण र उपभोक्तावादी विस्तारमा जाँदा लाभान्वित भएको थियो । यदि नेहरूले परिकल्पना गरेको मध्यम वर्गले जातरहित हुन्छ भने उदारीकरण पछाडिको मध्यम वर्गले जातरहित मात्र नभई वर्गीय असमानता एवं साम्प्रदायिक पूर्वाग्रहलाई पनि चिन्दैन । र, जब मध्यम वर्गले देख्न नरुचाउने यी विषयमा अर्थात् भारतमा बढ्दो असहिष्णुतालाई भंग ढंगले आमिरले चुनौती दिने प्रयास गरे तब ब्रान्ड बनेको आमिरको छवि धुलिसात् बन्नपुग्यो ।
अहिले मध्यम वर्गले स्पष्ट ढंगले हिन्दू बहुसंख्यकवादको एक मात्रै भाषा बोल्छ । गैरराजनीतिक एवं सतही मानवतावादी ‘लालसिंह चड्ढा’ हेरेकै चलचित्र हलमा एउटा अर्को चलचित्र हेर्ने मौका पाएका थिए, जहाँ प्रचुर मात्रामा हालको राष्ट्रिय युगचेतना देख्न सकिन्थ्यो । हल उत्साही दर्शकले खचाखच थियो र त्यहाँ तालिका पर्रा छुटिरहेका थिए । चलचित्र थियो इस्लामद्वेषी ‘द कास्मिर फाइल्स’ । जसको उद्देश्य छुद्र भावनालाई उत्तेजित गरेर नाफा कुम्ल्याउनु थियो ।
राजनीतिविरोधी मतलाई हिन्दुत्वको मतले सजिलै सहवरण गरिदियो, किनभने राजनीतिविरोधी मत कमजोर एवं सतही नैतिकतामा अडिएको थियो भने हिन्दुत्व गहिरो गरी गढेको वैचारिकी हो । योगी आदित्यनाथ र नरेन्द्र मोदीजस्ता हिन्दुत्ववादी नेताले आफूलाई कुनै पनि पारिवारिक वा गुटबन्दी स्वार्थमा संलग्न नभएको धार्मिक एवं बाह्य व्यक्तिको रूपमा चित्रण गरेर अन्ना हजारे आन्दोलनले उठान गरेको भ्रष्टाचारविरोधी भाष्यलाई कुशलतापूर्वक प्रयोग गरेका थिए । राजनीतिलाई राजनीतिक अर्थव्यवस्थामा सम्झौता गरेर हासिल गरिने शक्ति एवं श्रमको विभाजनका रूपमा नभई निपुणताको शुद्धतावादी खोजका रूपमा ग्रहण गर्दा मण्डल एवं वामपन्थी राजनीति असफल भएका छन् । र, यो असफलताका लागि मिडिया र ‘सत्यमेव जयते’जस्ता टिभी कार्यक्रमले पनि भूमिका खेलेको छ । सबैका लागि (अल्पसंख्यकबाहेक) राजनीति गरिरहेका छौँ भनेर सधैँ जोड दिने हिन्दुत्वले राजनीतिको मैदान कब्जा गरेको छ ।
मध्यम वर्ग विगत आठ वर्षदेखि निरन्तर हिन्दू बहुसंख्यकवादी प्रोपगान्डाको सिकार भएका छन् । टेलिभिजन च्यानलले यो वर्गलाई आफ्ना सबै चिन्ता र चासो मुसलमानको थाप्लोमा पारिदिने गरी अभ्यस्त बनाइदिएका छन् । हिन्दुत्व वैचारिकीको समर्थकका रूपमा मध्यम वर्ग सबैभन्दा अग्रस्थान छ । हेर्दा एकैपटक हाँसो र रिस उठ्ने सहरी आवासीय समूहका ह्वाट्स एप गु्रप च्याट समकालीन मध्यम–वर्गीय राजनीतिक विचारको प्रतिनिधि नमुना मात्रै हुन् ।
आम आदमी पार्टी (आप)ले केही वर्षयता मध्यम–वर्गमा आएको परिवर्तनलाई समायोजन गर्न दुई उपाय लागू गरेको छ । पहिलो, यो पार्टीले हिन्दुत्व प्रतीकलाई समर्थन एवं प्रोत्साहन गर्न थालेको छ । दोस्रो, निःशुल्क कल्याणकारी वस्तुको वितरणलाई आफ्नो राजनीतिक प्राथमिकताको सूचीमा राखेको छ र मध्यम वर्गलाई यी लाभबाट बाहिर पर्न दिएको छैन । दिल्लीका जनता मध्यम वर्ग राज्यस्तरको चुनावमा शासनका कारण ‘आप’लाई मत दिन्छन् भने राष्ट्रिय चुनावमा भाजपालाई वैचारिक मञ्च दिन मतदान गर्छन् । ‘आप’ अझै पनि हिन्दुत्वको सम्मोहनमा परेका मध्यमवर्गीय मतदातालाई आकर्षित गर्न एक अद्वितीय उपायको खोजीमा छ ।
ब्रान्ड बनेको आमिरको छविमा ग्रहण लाग्नुले प्रगतिशील राजनीतिको नेतृत्व प्रभाव एवं शक्तिमा भएका नैतिकवान् व्यक्तिले नभई नेतृत्व शक्ति सन्तुलनको पीँधमा रहेका सामाजिक समूहको राजनीतिक परिचालनले गर्छन् भन्ने सन्देश दिन्छ । चलचित्रमा थकित भएको मुख्य पात्र चड्ढाले अचानक आफ्नो म्याराथन दौडलाई रोक्छ र उसको अन्योलपूर्ण अनुहारले ‘यो सब गर्नुको के अर्थ ?’ भन्ने प्रश्न गर्छ । त्यसैगरी, रुन्चे अनुहार लगाएर मागेको माफी र देशभक्तिको वाचाले पनि आफ्नो चलचित्र बचाउन असफल भएका छन् आमिर ।
(अली राजनीतिशास्त्रका अनुसन्धाता र स्तम्भकार हुन् । ‘द टेलिग्राफ इन्डिया’मा प्रकाशित यो लेख दिनेश पन्तले अनुवाद गरेका हुन् ।)
