महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा, चोटका कारण कप्तान नगरकोटी टिम बाहिर

काठमाण्डाै – महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले टीमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् ।
चोटका कारण नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पुजा राना टीममा परेका छैनन् । अमिषा कार्की, समीक्षा घिमिरे र दीपा शाही भने पहिलोपटक टीममा परेका छन् । नेपाली टोलीको गोलकिपरमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ रहेका छन् । डिफेन्डरमा हिराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विक रहेका छन् ।
यस्तै,मिडफिल्डरमा विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी र रश्मी कुमारी घिसिङ टीममा रहेका छन् ।
साफ महिला च्याम्पियनसिप भदौ २१ गतेदेखि असोज ३ गतेसम्मद दशरथ रंगशाला काठमाण्डौमा हुनेछ । समूह बी मा रहेको नेपालसँगै भुटान र श्रीलंका रहेका छन् । नेपालले भदौ २१ गते भुटानसँग भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । यस्तै समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।