सेताे हात्ती’ बन्न सक्छ पोखरा विमानस्थल; चिनियाँ ऋणले देश डुबाउने खतरा
बिजनेस प्लान’ बिनै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति तय गर्दा घोषणा कार्यान्वयनमा संशय
पोखरा । नागरिक उड्डयन प्राधिकरण (क्यान) को निर्णयलाई आधार मान्ने हो भने आगामी पुस १७ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने छ । निश्चित ‘बिजनेस प्लान’ बिनै आएको सरकारी घोषणाले पोखरामा भने उल्लासभन्दा बढी संशय पैदा गरेको छ ।
सन् २०१७ जुलाई ११ मा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजना सन् २०२१ जुलाई १० मा सकिनुपर्ने हो । कोरोना महामारीका कारण एक वर्ष म्याद थपियो । तैपनि काम नसकिएपछि आगामी डिसेम्बरसम्म म्याद लम्ब्याइएको छ । हाल ९८ प्रतिशत काम सकिएको भनिएको विमानस्थल पुस १७ (जनवरी १) बाट सञ्चालन आउने भनिए पनि तोकिएको मितिमै अन्तर्राष्ट्रिय उडान हुनेमा पोखराकै सरोकारवाला विश्वस्त छैनन् । विश्वस्त हुन नसकिने पहिलो कारणमा पर्छ, पोखराको ल्यान्डफिल साइट व्यवस्थापन । अर्को हो, रिट्ठेपानी डाँडा कटान ।
ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थल बनाइसक्दा नेपालतर्फबाट हुनुपर्ने काममा ढिलाइ भएको छ । त्यसबाहेक सरकारले विमानस्थल सञ्चालनको खाका नै तयार गरेको छैन । न एयर रुटको टुंगो लागेको छ, न कुन–कुन देशका कुन–कुन कम्पनीले पोखरामा उडान भर्छन् भन्ने निश्चित नै भएको छ ।
विमानस्थल बन्न सुरु भएको पाँच वर्ष भइसक्दा नसरेको ल्यान्डफिल साइट अबको पाँच महिनामा सर्ला भन्ने विश्वास पोखरावासीले गरेका छैनन् । विमानस्थल निर्माणकै क्रममा काट्नुपर्ने डाँडामा हालसम्म रूख मात्रै काटिएको देखेर पनि प्राधिकरणले अबको पाँच महिनामा सञ्चालन कार्ययोजना टुंगो भन्नेमा सरोकारवालाले आशंका व्यक्त गरेका हुन् । सरकारी निकायले काम गरिरहेको देखाउन मात्रै सञ्चालनको मिति घोषणा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । ‘बिजनेस प्लान नभईकन मिति घोषणा हुनु भनेको काम गरेको भान पार्न खोज्नु मात्र हो,’ उनी भन्छन्, ‘त्यतिबेलासम्म रिट्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट व्यवस्थापन नै भएछ भने पनि यहाँबाट कहाँ जहाज जाने हो, कहाँकहाँबाट यहाँ आउने हो, कति व्यापार गर्ने हो, सरकारले भन्न सकेको छैन ।’
