प्रचण्ड-माेदीकाे भेट आइतबार हुने
भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको छ।
शुक्रबार भारत पुगेका दाहाल र मोदीबीच आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा दाहाल भारत भ्रमणमा गएका हुन्। मोदीसँगको भेटपछि दाहालले भाजपाको कार्यालय भ्रमण गर्ने बताइएको छ।
दाहालले शनिबार बिहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्नेछन् भने त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट हुने कार्यक्रम छ। शनिवार नै दाहाल फाउण्डेशन फर पब्लिक अवेरनेश एण्ड पोलिसी संस्थाले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम छ। यस्तै दाहाल शनिबार नै भारतीय विदेश मन्त्री जयशंकरले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने बताइएको छ।
