मल्ललाई भारतकाे स्पेसल अचिभमेन्ट अवार्ड
काठमाडौं। राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष ओमदेवी मल्ललाई भारत सरकारले सम्मान गरेको छ। १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा उनलाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’द्धारा सम्मानित गरिएको हो।
भारतको सहकारी मन्त्रालय एवं भारतीय राष्ट्रिय सहकारी संघको आयोजनामा भएको एक समारोहमा बरिष्ठ उपाध्यक्ष मल्ललाई भारतका गृह तथा सहकारी मन्त्री अमित शाहले सम्मान प्रदान गरे।
नयाँ दिल्लीस्थित विज्ञान भवनमा आयोजित समारोहमा मल्ललाई सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उक्त विशेष सम्मान प्रदान गरिएको हो। मल्लले संविधान सभा सदस्यको रुपमा देशको मुल कानुनमा सहकारीको महत्व स्थापित गर्दै अर्थतन्त्रका तीन खम्बामध्येको एक सहकारीलाई नेपालको संविधानमा समेट्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो।
सहकारीको क्षेत्रमा मल्लले विश्वव्यापी रुपमा पुर्याएको उल्लेख्य योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो। भारत सरकार एवं त्यहाँको राष्ट्रिय सहकारी संघले गरेको उक्त सम्मानले आफूलाई यस क्षेत्रमा अझै धेरै काम गर्न हौशला मिलेको मल्लले बताइन्।
सहकारीताद्धारा आत्मनिर्भर भारत एवं एक उन्नत विश्वको निर्माण’ विषयक उक्त कार्यक्रममा मल्ललाई दोसल्ला र सम्मान पत्र प्रदान गर्दै नेपालमा महिलालाई सहकारीको क्षेत्रसँग जोडेर उनीहरुको आर्थिक शशक्तिकरणमा मल्लले पु¥याएकी योेगदानको प्रशंसासमेत गरियो।
मल्ल नेपालमा मात्र नभई सहकारीको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै विशेष पहिचान बनाएर अगाडि बढिरहेकी छन्। अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ग्लोबलमा निर्वाचित हुने उनी पहिलो नेपाली सहकारीकर्मी हुन् भने निर्वाचित हुने एसिया प्रशान्त क्षेत्रकै पहिलो महिला हुन्।
उनले आइसीएमा नेपालमा भएका महत्वपूर्ण सहकारी अभियानका बारेमा विश्व सहकारी अभियानलाई जानकारी गराइन्। उनले नेपालको संघीय संरचना र त्यसअनुरुप विदेन्द्रीत सहकारी अभियान र गतिविधिका बारेमा पनि आइसीएमा अपडेट गराउने काम गरिन्। मल्लले नेपालका बचत तथा ऋण सहकारीहरु एशिया प्रशान्त क्षेत्रीय ‘ब्रान्डिङ’ कार्यक्रममा आवद्ध भई स्तरीकृत भएका छन् भन्ने विषय पनि विश्वलाई बुझाएकी छन्।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पुरा गरेकी मल्लले भारतीय राष्ट्रिय सहकारी संघअन्र्तगत सहकारी शिक्षा राष्ट्रिय केन्द्रबाट सन् २००५ मा सहकारीमा डिप्लोमा गरेकी छन्। यसरी सहकारीमा डिप्लोमा कोर्ष पुरा गर्ने उनी नेपालको पहिलो अभियन्ता पनि हुन्।
संविधान सभा सदस्यको रूपमा नेपालको संविधान बनाउँदा उनले सहकारी ऐन निर्माणका क्रममा सहकारी क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागीता सुनिश्चित गराउन सफल भइन्। नेपाली महिलाको हक अधिकार प्राप्ति एवं शशक्तिकरणको क्षेत्रमा पनि उनको भूमिका उत्तिकै महत्वपूर्ण रहेको छ।
२०५५ सालमा रिलायबल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत उनी सहकारी अभियानमा जोडिएकी हुन्। हाल उनी उक्त सहकारीको प्रमुख सल्लाहकार छिन्। उनी राष्ट्रिय सहकारी महासंघ नेपालको पहिलो संचालन समिति सदस्य र उपाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छिन्।
अन्य विभिन्न संघसंस्थामा पनि आवद्ध भएर सहकारी अभियानलाई बलियो बनाउने काममा आफू निरन्तर खटिरहेको मल्लले बताइन्।
