पप्पु कन्स्ट्रक्सनका रौनियार भन्छन्- ओलीले रिसबी साँधे, उपेन्द्रले पनि साथ दिएन्न
वीरगन्ज । पर्सा क्षेत्र नम्बर ३ का निलम्बित प्रतिनिधिसभा सदस्य (सांसद) हरिनारायण रौनियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्तारुढ दल र प्रधानमन्त्रीको इशारामा चल्ने निकाय भएको आरोप लगाएका छन्।
वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालकसमेत रहेका रौनियारले भने, ‘अख्तियार जसको सत्ता हुन्छ र जो प्रधानमन्त्री हुन्छ उसकै इशारामा नाच्छ।
उनले थपे, ‘अख्तियार भनेको सत्तारुढ दलको सुदर्शनचक्र पनि हो। जो सत्ताधारीको विपक्षमा हुन्छ सत्ताधारीले उसको गर्दनमा यही अख्तियारको सुदर्शनचक्र चलाएर राजनीतिक हत्या गर्छ।
बर्दियाको पुल निमर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि संसद पदबाट निलम्बनमा परेका रौनियारले तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले आफूमाथि झुठा मुद्दा दर्ता गरेर फसाएको आरोप लगाए।
पर्सा क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवारलाई पराजित गरी आफूले निर्वाचन जितेकाले त्यसकै रिसबी साँध्न तत्कालीन प्रम ओलीले आफूलाई अख्तियार लगाएर फसाएको रौनियारको आरोप छ।
पप्पु कन्ट्रक्सनले निर्माण गरेको पुलमा त्रुटि भेटिए पनि आफू त्यसमा दोषी नै नरहेको उनको जिकिर छ। रौनियारले भने, ‘२०७२ सालमै मैले पप्पु कन्ट्रक्सनको अध्यक्ष्बाट राजीनामा दिएर २०७३ मा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडे। एमालेलाई हराउँदै चुनाव जिते। तर अख्तियारले म संलग्न हुँदै नभएको कम्पनीको त्रुटिमा ममाथि मुद्दा दायर गर्यो।
पप्पु कन्ट्रक्सनको सञ्चालक आफ्नो छोरा सुमित रौनियार रहे पनि उक्त निर्माण कम्पनीमा २०७२ पछि आफ्नौ कुनै आबद्धता र संलग्नता नरहेको रौनियारले बताए।
चुनाव जितेको ६ महिना नबित्दै बिना कसुर आफूविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता गरी सांसद पदबाट निलम्बित गरेपछि न्यायका लागि आफूले हरेक दलका शीर्ष नेता, सभामुख र प्रधानमन्त्रीहरुलाई पटक-पटक गुहारे पनि कसैले सुनुवाइ नगरेको गुनासो उनको छ।
आफ्नै दल जनता समाजवादी पार्टी (जसपा) र अध्यक्ष उपेन्द्र यादवले पनि कुनै सहयोग नगरेको रौनियारले बताए।
पछिल्लो पटक एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला जसपा फुटाउने चलखेल हुँदा ओली र आफ्नै दलका केही नेताले ५ करोड रुपैयाँ र आफूमाथि लागेको भ्रष्टचारको मुद्दा फिर्ता गराइदिने प्रलोभन दिएको खुलासा पनि उनले गरे।
अहिलेको संविधान र अख्तियारको भ्रष्टचार ऐन एक आपसमा बाझिएको भए पनि ऐन संशोधन नगरिँदा आफू त्यसको सिकार बन्न पुगेको उनको भनाइ थियो।
मूलधारका केही मिडियाले पनि अतिरन्जित समाचार लेखिदिएका कारण त्यसले पनि आफू अप्ठ्यारोमा परेको उनले बताए।
उनले प्रश्न गर्दै भने, ‘पप्पुले बनाएको बाहेक यो देशमा अरु १३३ वटा पुल बनाउँदा बनाउँदै भासिएका छन्। तर कति वटा ठेकेदारलाई कारबाही भयो? खोइ त मिडियाले लेखेको? ममाथि नै किन यति धेरै पूर्वाग्राही बनेको? यो देख्दा अच्चम लाग्छ। दुःखी पनि हुन्छु।’
अहिलेको विद्यमान निर्वाचन नियमावलीले निर्वाचन लड्न कुनै बाधा अवरोध नगरेको जनाउँदै उनले भने, ‘तर अब म आगामी चुनाव लड्छु कि लड्दिनँ यसबारेमा केही समय पछि भन्नेछु।अन्नपूर्णापाेष्ट
