जसपा विवाद : मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने,रेनु यादव पार्टी छाेड्ने

सेयर गर्नुहोस

जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ भने मन्त्रीबाट हटाइएकी रेनु यादवले पार्टी नै छाेड्ने खबर संचारमाध्यममा प्रकाशित भएका छन । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ ।

जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’ पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रुपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए ।

अध्यक्ष यादवले गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न आजै आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने उनले जानकारी दिए । अध्यक्ष यादवले गरेको निर्णय सर्वसम्मत होइन, विवादित निर्णय हो, त्यसलाई कुनै पनि हालतमा लागु गर्नुहुँदैन भनेर प्रधानमन्त्री देउवालाई भेटेर भन्ने उनले बताए ।

यसअघि पनि जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर जसपाका अध्यक्ष उपेन्द्र यादवबाट आउने कुनै पनि एकपक्षीय निर्णय कार्यान्वयनमा नल्याउन आग्रह गरिसकेका थिए । असार २७–२८ गते वीरगञ्जमा बस्ने केन्द्रीय समितिको बैठकमा जाने कि नजाने भन्ने विषयमा पनि आफूहरुको बीचमा छलफल भइरहेको श्रेष्ठले बताए ।

Facebook Comments Box