ओलीको प्रश्न : सिसिटिभी ठेलामा मकै पोल्नेले मान्नुपर्ने, अर्थमन्त्रीले मान्नुनपर्ने?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा व्यापारीको अनुहार देखिएको टिप्पणी गरेका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको बजेट निर्माण प्रक्रिया खतरनाक भएको बताएका हुन्।
उनले भने, ‘बजेट बजेट मात्रै रहेन। यो इमान र नैतिकतासँग हुनुपर्छ। यो बजेटले जनतालाई मर्का पार्ने कुरा मात्रै होइन। जनतालाई मर्का त पर्यो नै। यो बजेट एउटा बहुतै खतरनाक प्रक्रियाबाट निर्माणको प्रक्रियामा मुल्य मान्यतालाई तोडेर आयो। सदनबाहिर त्यो कुरा उठेको छ। तर एमाले को? कसले माग्ने फुटेज? माग्दैमा दिनुपर्छ? करको दरमा पनि मैले गरेको हो गरिन्छ भनेको छ। मनै राज्य हो।’
संसदको प्रमुख दल प्रमुख प्रतिपक्ष हिजोसम्म सरकारमा भएको पार्टी अनेक षड्यन्त्र गरेर अदालतमा मुद्धा हालेर मुस्किलले हटाइएको बताए।
‘यत्रो पार्टीले फुटेज माग्दो कोही एमाले भन्ने? एमाले अहिलेको संसद चलाउने हो। अरू पार्टीलाई संसद र जनताप्रति रुची छैन। बजेट कहाँ कसरी आयो? ज्यादै गम्भिर बिषय छ। प्रमाणित ढंगले मान्छेले भन्न थाले। मन्त्रालयबाटै कुरा आए। नत्र जनताले कसरी थाहा पाउने। बजेट निर्माणको काममा अनधिकृत मान्छे समावेश भएको छ। बजेट बनाउने बेलामा बाहिरको मान्छे आउने पहिलो घटना हो’ उनले भने।
करको दरमा व्यक्तिलाई पोस्ने तरिकाले आएको आरोप लगाए। देशको बजेट नभएर दुई चार घरानाको अनुहार देखिएको बताए। साधारण नागरिकले प्रश्न गर्दा समेत जवाफ दिनुपर्ने उनले बताए।
‘गृहमन्त्रालयको अनिवार्य पालना गर्नुपर्ने सिसीटिभिको फुटेज कसरी डिलिट भयो। सिसिटिभी ठेलामा मकै पोल्नेले मान्नुपर्ने। सिसिटिभी अर्थ मन्त्रालय र अर्थमन्त्रीले मान्नुनपर्ने? किन दिन्छु दिन्नँ भन्ने बेलामा थियो नि। अहिले डिलिट भयो। यत्रो गम्भीर विषयमा’ उनले भने। उनले छानविन समिती बनाएर छानविन गर्न माग गरे।
अर्थ मन्त्रालयले भने उक्त सिसिटिभी फुटेज डिलिक्ट भइसकेको भन्दै देखाउन नसकिने बताएको छ। नियमावलीमा भने सिसिटिभीको फुटेज तीन महिनासम्म सुरक्षितसाथ राख्नुपर्ने व्यवस्था छ। यद्यपि, यस नियमको अर्थ मन्त्रालयले नै पालना गरेको छैन।
