रुस र चीनलाई काउन्टर गर्ने जी७ रणनीति

सेयर गर्नुहोस

 

 

जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् ।

जी७ क्यानडा, फ्रान्स, जर्मनी, इटली, बेलायत, अमेरिका र जापान मिलेर बनेको समूह हो । विश्वका यी शीर्ष अर्थतन्त्रले लगभग एक अर्ब मानिसको प्रतिनिधित्व गर्छन् । यसमा जापानबाहेक अन्य सबै श्वेतबहुल मुलुक भएकाले यसलाई ह्वाइट पिपुल्स क्लब पनि भन्ने गरिन्छ ।त्यसो त यस बैठकमा अर्जेन्टिना, भारत, इन्डोनेसिया, सेनेगल, दक्षिण अफ्रिका र युक्रेनलाई पनि पर्यवेक्षकका रूपमा निम्त्याइएको छ ।

युक्रेनमा भइरहेको युद्धका कारण विश्वभरि खाद्यान्न तथा ऊर्जा आपूर्तिमा समस्या आइरहेको र विश्व अर्थतन्त्र पनि चरम दबाबमा रहेको बेलामा यो बैठक आयोजना गरिएको हो । रुसलाई युक्रेन युद्ध रोक्नका लागि दबाब दिने उद्देश्यले जी७का नेताहरूले रुसी सुन किन्न बन्द गर्ने विषयमा सहमति जुटाउन खोजेका छन् । द न्युयोर्क टाइम्सका जिम ट्यांकर्सलीको रिपोर्टमा उल्लेख गरिएअनुसार, रुस संसारको सबभन्दा ठूला सुन उत्पादकमध्ये एक मुलुक हो । रुसका लागि ऊर्जापछिको सबभन्दा मूल्यवान निर्यात सुन नै हो ।

रुसी सुनको अधिकांश निर्यात जी७ मुलुकतर्फ नै हुने गरेको छ र विशेषगरी बेलायतको लन्डन रुसी सुन कारोबारको केन्द्र नै हो । रुसले सन् २०२० मा लगभग १९ अर्ब डलर बराबरको सुन निर्यात गरेकोमा अधिकांश सबै बेलायत पुगेको थियो । त्यसलाई रोकेर रुसलाई युद्धबाट विमुख गराउन सकिने आकलन जी७ले गरेको हुनुपर्छ ।

त्यसका साथै रुसले तेल बेचेर उठाइरहेको राजस्व घटाउनका लागि अमेरिकाले ल्याएको नयाँ प्रस्तावमा पनि उनीहरूले छलफल गरेका छन् । रुसलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट थप एक्ल्याउने अमेरिकाको उद्देश्य हो ।

तर यस विषयमा जी७ का नेताहरूबीच सर्वसम्मति बन्ने विषय शंकाको घेरामा रहेको रोयटर्स समाचार संस्थामा म्याथियस विलियम्स र टमस एस्क्रिट लेख्छन् । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले यस विषयलाई ध्यानपूर्वक व्यवस्थापन गर्नुपर्ने र थप छलफल गर्नुपर्ने बताएका छन् ।

यस बैठकमा नेताहरूले युक्रेनको पक्षमा एकजुट भएर उभिने संकल्प लिएका छन् । सोमवार बैठकमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

रुसले युक्रेनको डोनबास क्षेत्र नियन्त्रणमा लिन लागेको र युद्ध जितिरहेको सन्दर्भमा पश्चिमी एकता धर्मराउन थालेको भनी आलोचना भइरहेको छ । फ्रान्स र जर्मनी जस्ता मुलुकहरू रुससँग वार्ता गरेर युद्ध अन्त्य गराउन सकिने सोच राख्छन् भने बेलायत र अमेरिका जस्ता मुुलुक अझै पनि युक्रेनलाई हातहतियार सहयोग गरिरहेमा रुसको पराजय हुने कुरा गर्छन् ।

जी७ बैठकमार्फत पश्चिम एकताबद्ध छ भनी संसारलाई देखाउने पश्चिमी नेताहरूको उद्देश्य हो । बाइडनले जर्मनीका चान्सलर ओलाफ शोल्जलाई आफूहरू विभाजित नहुने बताएका छन् । शोल्जले पनि जी७ एकताबद्ध भई युद्धले निम्त्याएका असरको सामना गर्नुपर्ने बताए ।

जी७का नेताहरूलाई सन्देश दिने उद्देश्यले बैठकको छेको पारेर रुसले युक्रेनको राजधानी किएभमा आइतवार क्षेप्यास्त्र प्रहार गरेको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजेतिर किएभको शेभचेनकिव्स्कीमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणले सर्वसाधारणहरू बसेको भवनलाई तारो बनाएको युक्रेनका प्रहरी प्रमुख इहोर क्लीमेन्कोले बताए ।

घटनामा एकजनाको मृत्यु अनि पाँचजना घाइते भएको बताइएको छ । रुसले चाहिँ सर्वसाधारणलाई लक्षित नगरिएको, बरू सैन्य तालिम केन्द्रमा क्षति पुर्‍याइएको बताएको छ । स्पेनको राजधानी मड्रिडमा बुधवारबाट शुरू हुन लागेको नेटो शिखर बैठकअगाडि नेटोलाई सन्देश दिने उद्देश्य पनि रुसले लिएको देखिन्छ ।

रुसका साथै चीनका विरुद्ध पनि जी७ मुलुकहरू उभिन खोजेका छन् । हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव तथा आक्रामकता बढ्दै गएको भन्दै त्यसको प्रतिकार गर्न जी७ मुलुकहरू लागिपरेका छन् ।

यस बैठकमा जी७ नेताहरूले आइतवार ६०० अर्ब डलर बराबरको पूर्वाधार पहलको घोषणा गरेका छन् । विकासशील मुलुकहरूलाई जलवायु परिवर्तनको सामना गर्नका लागि सघाउने यस पहलको उद्देश्य हो । चीनको महत्त्वाकांक्षी बेल्ट यान्ड रोड इनिसिएटिभलाई पश्चिमले दिएको जवाफका रूपमा यस पहललाई हेरिएको बताइन्छ ।

पार्टनरशिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर यान्ड इन्भेस्टमेन्ट नाम दिइएको यो पहल सहायता वा परोपकार नभएको अमेरिकी राष्ट्रपति बाइडनको भनाइ छ । यो लगानी भएको भन्दै उनले यस लगानीमार्फत जी७को अर्थतन्त्रमा अभिवृद्धि हुने अपेक्षा लिएका छन् । पूर्वाधार विकास परियोजनामा बहुपक्षीय विकास बैंक, विकास वित्तीय संस्थान, सोभरेन वेल्थ फन्ड लगायतबाट थप रकम लगानी गरिने पनि बाइडनको भनाइ छ ।

चीनको बीआरआईले विकासशील मुलुकहरूलाई ऋण जालोमा फसाएको र आफ्नो फाइदा मात्र गराएको आरोप लगाउँदै जी७ले आफूहरूको लगानीमार्फत विकासशील र विकसित दुवै मुलुकलाई फाइदा पुग्ने दाबी गरेको छ ।

तर पोहोर साल जी७ले ल्याएको बिल्ड ब्याक बेटर वर्ल्ड (बी३डब्ल्यू) पहल नै अपेक्षाकृत गतिमा अघि बढ्न नसकेको अवस्थामा यो नयाँ पहल बीआरआईको सार्थक प्रतिस्पर्धी बन्ने कुरा शंकास्पद छ । लाेकान्तरबाट

Facebook Comments Box