ओलीको ‘राष्ट्रवाद’ लाई ढोंग भन्दै प्रचण्डको टिप्पणीः एसपीपी ओलीको पालामा भित्राएको प्रमाणित
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी नेपाल भित्रिएको प्रमाणित भइसकेको बताएका छन् । उनले एसपीपीको विरोध गरे एमाले भ्रम फैलाउन खोज्दा नराम्ररी नांगिएको टिप्पणी गरेका हुन् ।
आज भरतपुर महानगरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ओलीको राष्ट्रवादलाई ढोंगको संज्ञा दिए । एसपीपी केपी ओलीकै पालामा भएको हो भनेर आफूले बोल्दा एमालेका एकजना नेताले प्रमाण देखाउन चुनौती दिएको ४ घन्टामै प्रमाणित भएको बताए ।
ओलीले जहिले पनि भ्रम फिजाउन खोजेको र यसपटक नराम्ररी भ्रमको पर्दा च्यातिएको बताए । उनले भने,‘इन्डो प्यासिफिक स्ट्राटिजीको बारेमा भ्रम पैलाउने कार्य ओलीकै पालामा भएको हो, एसपीपी छिराएको पनि ओलीले नै हो । उनकै पालामा चिठी गएको प्रमाणित भइसकेको छ ।’
हिजो संसदमा प्रचण्डले नै एसपीपीबारे खुलासा गर्दै ओलीकै पालामा भएको टिप्पणी गरेका थिए । त्यसलाई प्रमाणित गर्न चुनौती दिएपछि पत्र नै सार्वजनिक भएको थियो । आज प्रधानसेनापति प्रभुराम शर्माले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीले पत्र लेखेको पुष्टि गरे । पत्रको मितिका आधारमा त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए । तर, ओलीले आफूलाई पत्रबारे जानकारी नभएको बताएका छन् । पत्रको बोधार्थ भने प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयलाई गराइएको खुलिसकेको छ ।
