जसपामा विवाद : उपेन्द्र यादवप्रति बाबुराम भट्टराई पक्षमा अविस्वास
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मधेस केन्द्रित दलका नेताहरूको दौडादौड छ । त्यो दौडमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि रहेका छन् । सोमबार जसपाका केही नेतालाई साथमा लिएर भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । उनका साथमा थिए, जसपाकै सांसद् एवं कार्यकारिणी सदस्यहरु राजकिशोर यादव र इस्तियाक राई । बाबुरामको साथमा महिन्द्र राय यादव पनि बालुवाटार जाने कुरा तय थियो । तर संसदमा उनले जवाफ दिनुपर्ने भएकाले उनी बालुवाटार गएनन् । बालुवाटार स्रोतका अनुसार भेटमा भट्टराईले प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीको विवादको विषयबारे जानकारी गराएका थिए । ‘हाम्रो पार्टीमा अहिले विवाद चलिरहेको छ, त्यो कुरा तपाईंलाई थाहै होला । पार्टीबाट केही कुरा तपाईं समक्ष आए सबैको सहमतिमा आएको छ कि छैन, त्यो हेरेर मात्र निर्णय गर्नुहोला,’ प्रधानमन्त्री देउवा समक्ष भट्टराईले राखेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।
