अतिवादी धार्मिक समूहको मारमा पाकिस्तान

सेयर गर्नुहोस

पाकिस्तानी तालिवानले सरकारसँगको युद्ध विरामलाई केही समय निरन्तरता दिने भएको छ। तालिवानको यो घोषणसँगै त्यहाँ शान्ति छाउने सम्भावना त देखिएको छ। तर, पाकिस्तानमा कठोर सारिया कानुन लागु हुने त होइन भन्ने आशंका थपिएको छ। अफगान तालिवान सरकारको पहलमा पाकिस्तानी सरकारसँग वार्ता सुरु भएपछि पाकिस्तानी तालिवानले युद्ध विरामलाई निरन्तरता दिने भएको हो।

तेहरक तालिवान पाकिस्तान (टीटीपी)ले केही वर्षदेखि सीमावर्ती पहाडी क्षेत्रमा कट्टरपन्थी सारिया कानुनको माग गर्दै सशस्त्र युद्ध गरिरहको छ। अफगानको सीमाको छेउमा रहेका ती पहाडी क्षेत्र टीटीपीको प्रभाव क्षेत्रसमेत मानिन्छ।
सञ्चार माध्यमले जनाए अनुसार सो समूहको अफगान तालिवानसँग निकट सम्बन्ध छ। गत वर्ष अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि पाकिस्तानमा पनि टीटीपीले आफ्नो गतिविधिलाई तीव्र पारेको थियो। यस क्रममा सन् २०२१ मा दर्जन भन्दा बढी सरकारी सेनाको हत्या गरेको थियो।

अहिले सैन्य समूह र पाकिस्तानी राजनीतिक तथा संसदीय नेताको सभा जिर्गाको समितिबीच वार्ता भइरहेको छ। अहिलेके शर्तमा वार्ता केन्द्रित भएको भन्ने यकिन भएको छैन। विगतमा यसरी थुप्रै पटक युद्ध विराम भए पनि बीचमा नै भङ्ग हुने गरेका प्रशस्त उदाहरण छन्। चाडलाई केन्द्रित गरेर गरिएको युद्ध विरामको मिति भने ३० मेमा सकिएको छ।

सन् २००७ मा इस्लामाबादको लाल मस्जिदलाई सेनाले हटाएपछि यसको प्रतिकार गर्न टीटीपीलाई संस्थागत स्वरूप दिइएको छ। यस अगाडि पनि अफगान तालीवानसँग सम्पर्क गरेर पाकिस्तानमा गतिविधि हुने गरेका थिए। टीटीपीका संस्थापक कुनै समय पाकिस्तानी गुप्तचर निकाय (आइएसआई) को नजिक भएको पनि खुलासा भएको थियो।

वेस्टब्यान्कको युएस मिलिटरी एकेडेमीका एसोसीएसट प्रोफेसर अमिरा जाडोनका अनुसार सन् २००१ मा अमेरिकाको पेन्टागनमा भएको विस्फोटपछि पाकिस्तानी तालिवानले अफगान तालिवानसँग सम्पर्क सुरु गरेका थिए। अर्को वर्ष अफगानिस्तानमा तालिवान सत्ता ढलेपछि यो सम्बन्ध अझ बढी प्रगाढ भएको थियो। सन् २००७ मा यसले संस्थागत स्वरूप लिएपछि टीटीपी आक्रामक भएको हो। त्यसपछि नै आम नागरिक र सेना नै निसानामा परेका थिए। पाकिस्तानी सेनाले पनि बदलाको भाव लिँदै आएको थियो।

विशेषज्ञका अनुसार तालिवान सरकारको विरुद्धमा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले आक्रमण गरेको समयमा पनि पाकिस्तानी तालिवानले सहयोग गरेका थिए। उनीहरूले सेल्टर दिने तथा खाने कुरामा सहयोग गर्ने गरेका थिए। त्यसै समयमा उनीहरूले आर्थिक सहयोग पनि गरेका थिए। सन् २०२१ को जुलाईदेखि भने टीटीपी अझ बढी आक्रामक भएको थियो।

त्यसै समयमा पाकिस्तानी तालीवान प्रमुख नुर वाली मेसुदले अफगानमा तालिवानको जितलाई संसारकै मुस्लिमको जितको संज्ञा दिएका थिए। उनले पाकिस्तानी सेनासँगको लडाइँ अझ बढी पेचिलो बन्ने चेतावनी दिएका थिए। उनले पाकिस्तानी सीमा क्षेत्रलाई कब्जामा लिएर आफ्नो कानुन लागु गर्ने कुरामा विश्वाससमेत व्यक्त गरेका थिए।

सिंगापुरमा रहेका स्कलर अब्दुल बासीस्ट अफगान तालीवानलको जितले पाकिस्तानी तालिवानलाई उत्प्रेरित गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले सोचे की ‘अफगानिस्तानमा अमेरिकाले नै हार खायो भने पाकिस्तानले के नै गर्न सक्छ ?’

त्यहाँ रहेको आदिवासी समूदाय बीचको कटु सम्बन्धलाई टीटीपीले आफ्नो अनुकूल प्रयोग गरेको जनाइएको छ। पाकिस्तानी सेनाले भने सुरुवाती दिनमा टीटीपीको गतिविधिलाई त्यत्ति गम्भीरतापूर्वक लिएको थिएन। टीटीपीले अमेरिका विरोधी अभियानलाई आफ्नो मुख्य मुद्दा बनाए पनि पाकिस्तानमा अमेरिकाको उपस्थिति नभएका कारण त्यो प्रभावकारी नहुने तथा पाकिस्तानमा त्यसको अर्थ नहुने मत पाकिस्तानी सेनाकै थियो।

अफगानमा तालीवानले सत्ता लिएपछि संसारले नै त्यस तालीवान सत्तालाई सकारात्मक रूपले हेरेको थिएन। पाकिस्तानले भने अफगानको नयाँ सत्तालाई सहजै स्वीकार गरेको थियो। एकातिर आफ्नै देशमा वर्षौँदेखि तालिवानले दिएको दुख र ज्यादती, अर्कोतर्फ अफगानिस्तानको तालिवान सत्ताप्रति पाकिस्तानी सरकारको सकारात्मक धारणाले सबैलाई आश्चर्यमा पारेको थियो। अफगान तालिवान असल र पाकिस्तानी तालिवान खराब भन्ने दोधारे नीति पाकिस्तानी सरकारको विगतदेखि नै थियो।

आदिवासी क्षेत्रमा पाकिस्तानी सेनाले वर्षौँदेखि तालीवानलाई नियन्त्रणमा लिन थुप्रै अपरेसन नगरेको होइन। तथापि सरकारका ती अपरेशनले पाकिस्तानी तालिवानलाई त्यहाँबाट हटाउने कुरामा त परै जाओस्, तालिवानकै कारण हजारौँ स्थानीयवासी विस्थापित भएका छन्। तालिवानले सताइरहेको समयमा समयमा इस्लामिक इस्टेट खुर्सान प्रभिन्स (आइएसके)को पनि त्यस क्षेत्रमा उपस्थिति हुन थालेपछि पाकिस्तानका लागि थप टाउको दुखाइको विषय बनेको छ।थुप्रै विद्रोही र सैन्य जत्थाहरू लडाइँमा उत्रिएपछि त्यहाँ हरेकको जीवन कठिन बनेको छ। त्यस स्थान छाड्नेको सङ्ख्या थपिँदो छ। त्यहाँको दर्दनाक दृश्य देखाउँदै एक व्यापारी बाजुरले ती क्षेत्रको अवस्था खराब भएको तथा बस्नका लागि अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन्। टीटीपीसँग पाकिस्तानी सेनाको तर्फबाट लडेका एक युवा त आफ्नो सर्वस्व नै गुमेको बताउँछन्। उनका बाबु र काकाको छोरा मारिएका थिए। उनी पनि अन्यत्र कतै टाढा जाने योजनामा छन्।

एक युवा आक्रोशित हुँदै भन्छन्, ‘धेरै जना एकल भएका छन्। धेरै आमाको काख रित्तिएको छ। सरकारले केही गर्न सकिरहेको छैन। यसरी कति दिन चल्ने हो थाहा छैन। ’पाकिस्तानको अफगान सीमावर्ती क्षेत्र आइएसकेको पनि प्रभाव क्षेत्र हो। बाजुर, मोमान्द, खाइबर, ओराकजी र कुराम त्यस क्षेत्रमा पर्छन्। उत्तर र दक्षिण वाजीर स्तानमा पनि दुवै समूहको प्रभाव उत्तिकै छ। त्यहाँ आइएसकेले पनि थुप्रै सेनासँग सरोकार राख्ने मात्र होइन, सुराकीको आरोपमा सर्व साधारणको समेत हत्या गरेको उदाहरण छ।
पाकिस्तान इन्स्टिच्युट अफ पिस स्टडीजको एक अध्ययन अनुसार सन् २०२१ को जुलाईमा टीटीपीको प्रभाव सबैभन्दा बढी थियो। सन् २०२१ को पहिलो ६ महिनामा टीटीपीका कारण १ सय ४० व्यक्तिको ज्यान गएको थियो। त्यसै वर्षको जुलाईदेखि सेप्टेम्बरमा भने ७३ जनाको ज्यान गएको टीटीपीले जनाएको छ।

पाकिस्तानमा सार्वजनिक भएको तथ्यांक अनुसार उत्तरी वाजीरीस्तान टीटीपीको सबैभन्दा बढी प्रभाव रहेको क्षेत्र हो। त्यसै स्थानमा उनीहरूले धेरै आक्रमण गर्ने गरेका छन्। गत मे महिनामा उत्तरी वाजीरीस्तानमा भएको एउटै आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको थियो। अल्पसङ्ख्यक सिख समुदायको बसोबास रहेको स्थानमा सो आक्रमण भएको थियो।

अहिले पाकिस्तानमा टीटीपी र आाइएसकेको गतिविधि उत्तिकै बढेको छ। यो गतिविधिमा नागरिक भने असुरक्षित छन्। धार्मिक अतिवादी समूहको मारमा परेको पाकिस्तान सहजै त्यसबाट निस्कने कुनै छाँट देखिएको छैन। टीटीपीको कारण समस्या भोगेको पाकिस्तानको अफगान तालिवानसँगको सुमधुर सम्बन्ध भने साँच्चै आश्चर्यजनक हो। स्रोतः बीबीसी, भिएओए

Facebook Comments Box