छटपटीमा उपेन्द्र यादव, सांसदको चुनाव जित्न गठबन्धन छाडेर एमालेको ओत लाग्ने सम्भावना

सेयर गर्नुहोस

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धजका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।

ओलीले २५ बैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पछिल्लो पटक गठबन्धन असार १७ गते टुट्ने बताएका थिए । गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषीको भएको भनाइ थियो । तर, तालमेललाई लिएर जसपा असन्तुष्ट हुँदा ओली नै गठबन्धन टुटाउन लागेको कतिपयको विश्लेषण छ । ओलीले बुधबार पार्टी संसदीय दलको बैठकमा पार्टी पहिलो हुन नसक्नुको कारण अन्तर्घातसँगै पाँच दलीय गठबन्धन पनि भएको बताएका थिए ।

उनी गठबन्धनप्रति निकै आक्रोशित छन् । बारम्बार उनी गठबन्धनलाई देश विकास गर्न भन्दा पनि मागिखानेहरूको गठबन्धन भन्दै टिप्पणी गर्दछन् । सोही गठबन्धन टुटाउन ओलीले चाहँदै आएका हुन् ।

ओली निकट एक पदाधिकारीले भने गठबन्धन आफैं टुट्ने बताए । ‘तालमेलमा धोकाधडी भयो भन्ने सुनिँदै आएको छ । अहिले नै यस्तो भएपछि अनि प्रदेश र संघको निर्वाचनमा सँगै जान्छन् होला र ? मलाई लाग्छ, अहिले बजेट अधिवेशन नसकिँदै गठबन्धन टुट्छ । हामीले टुटाउनु पर्दैन ।’ गठबन्धनमा कांग्रेस, माओवादी र जसपाको अतिरिक्त नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि रहेका छन् ।

प्रधानमन्त्री छँदा ओलीले दोस्रो पटक ७ जेठ २०७८ मा संसद् विघटन गरेपछि कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको हो । गठबन्धन एमालेको राजनीतिक यात्रामा भने हानिकारक भएको छ । परिणामतः सङ्घीय सरकार मात्र होइन, चार वटा प्रदेश सरकार गुमायो भने राष्ट्रियसभा निर्वाचनसँगै स्थानीय तह निर्वाचनमा क्षति बेहोर्नु परेको छ । यता यादवले भने नातावादमा लाग्दा विराटनगरको उपमेयरमा हार्नुपरेको विश्लेषण गरिएको छ । उनले त्यहाँ कुनै चर्चामा नरहेका आफ्ना छोरालाई गठबन्धनको बलमा उपमेयर बनाउन खोजेका थिए ।

सोही घटना जनकपुर उपमहानगरपालिकामा पनि दोहोरिएको हो । छोराले हारेपछि भने उपेन्द्र यादव स्वयं संघीय चुनावमा कुन ठाउँबाट चुनाव लड्ने भन्नेमा छटपटीमा छन् । उनले आफूले चुनाव जित्ने क्षेत्र खोज्दै हिँडिरहेका छन् ।

चीनको बचाउ गर्ने ओलीलाई हुम्लाकी सांसदको चुनौती : समय देउ, सिमा मिचेको फोटो नै देखाएर प्रमाणित गरिदिन्छु
काठमाडौं । हुम्लाकी सांसद रंगमति शाहीले उत्तरी छिमेकी चीनले हुम्लामा सीमा नमिचेको भनेर बचाउ गर्ने प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको आलोचना गरेकी छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहीले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले चीनको बचाउ गर्ने हिसाबले नमिचिएको भूमि मिचिएको छ भनेर बबण्डर मच्याइयो भनेर झुटा भाषण गरेकोमा आपत्ति जनाएकी हुन् ।

उनले ओलीलाई समय दिन आग्रह गर्दै सीमाको तस्बिर नै देखाएर कहाँ कहाँ मिचिएको छ भनेर देखाउने पनि च्यालेन्ज गरिन् ।

आफू स्थलगत अवलोकनमा गएको जानकारी गराउँदै सिंहदरबार र हेलिकोप्टरमा नदेखिएको मिचिएको भूभाग आफूले तस्बिरमार्फत देखाउने चुनौती दिइन् ।

‘हुम्ला पुगेर सीमा मिचिएको छैन भन्नुभयो । पहिला सिंहदरबारबाट मिचिएको देखिएन। अस्ति हेलिकोप्टरबाट पनि देख्नुभएनछ,’ उनले भनिन्, ‘म चुनौती दिन चाहन्छु म त्यहाँ स्थलगत भ्रमण गरेर आएको छु, म सँग फोटो छ । मैले तपाईलाई फोटो हेर्न आउन त भन्दिन । तपाईले समय दिनुहुन्छ भने म यो फोटो देखाएर कहाँ कहाँ के के भएको छ भन्ने कुरा ब्रिफिङ गर्छु । अनि त्यसपछि मात्र मलाई जवाफ दिनुहोला । हुम्ली जनतालाई जवाफ दिनुहोला ।’

Facebook Comments Box