१३ बैशाख २०८१, बिहीबार

नेपालमा अमेरिका र चीनको टकरावले ठूलै राजनीतिक हलचलको संकेत

समाचार विश्लेषण । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी चिनियाँ अधिकारीको दौडधूप चल्यो । ओलीले चीनसँगको बीआरआईलाई अगाडि बढाउन खूबै मिहेनत गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङ ओली प्रधानमन्त्री हुँदै नेपाल भ्रमणमा आए ।

ओलीको कार्यकालमा चिनियाँ कम्युनिस्ट पार्टी र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबीच संयुक्त प्रशिक्षण नै चल्यो । प्रशिक्षणमा सहभागिताका लागि नेकपाका तत्कालीन नेताहरुको तछाडमछाड नै भयो । नेपालको इतिहासमै यसअघि कहिले नभएको चीनको चहलपहल नेपालमा देखियो । चिनियाँ कम्पनीहरुले विभिन्न परियोजनाको जिम्मेवारी पाए ।

अहिले परिस्थिति बदलिएको छ । ओलीको बर्हिगमनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी सत्तामा आएलगत्तै अमेरिकी विकास परियोजना एमसीसी पारित गराउनतर्फ लागे । अमेरिकी अधिकारीहरु नै यसका लागि नेपाल आए । शिर्ष नेताहरुलाई दबाब दिएको खुल्यो ।

एमसीसी पारित भयो । त्यसपछि अमेरिकाले थप आर्थिक सहयोगको घोषणा गर्यो । नेपालमा अमेरिकी अधिकारीहरुको भ्रमण बाक्लो हुनथाल्यो । अमेरिकी सिनेटरहरुको अहिलेसम्मकै ठूलो टोली नेपाल आयो । हालैमात्र अमेरिकी उपसहायक विदेशमन्त्री उज्रा जीया आइन् ।

जीया नेपाल आउनु अघि भारतको तीन दिने भ्रमण गरी धर्मशाला पुगी दलाई लामालाई भेटेकी थिइन् । उनी नेपाल आएर सुरुमा तिब्बती शरणार्थीलाई भेटिन् । यो भेटले तरङ्ग नै ल्यायो । चीनले समेत नेपालसँगको बैठकमा यसबारे प्रश्न उठायो ।

ओलीले जसरी प्रधानमन्त्री हुँदा नेपाल मामलामा चीनलाई तानेर ल्याएर देउवाले अमेरिकालाई तान्दै ल्याएका छन् । ओलीले चीनसँगको सीमा समस्या नै नरहेको ढिपी गरेर भारतसँगको कालापानीको समस्याको कुरा उठाइरहे । देउवा सरकारले कमिटी नै गठन गरेर चीनसँगको सीमा समस्याको अध्ययन गर्न लगायो । यसबाट प्रधानमन्त्री बदलिएपछि परिस्थिति बदलिएको स्पष्ट देखिन्छ ।

पछिल्लो समय अमेरिकाको नेपालमा उपस्थिति बढ्दै गएको छ । चीनले संवेदनशील ठान्ने गरेको तिब्बती मामलामा अमेरिका सिधै प्रवेश गरेको छ नेपालमा । यसले नेपालको राजनीतिमा अमेरिका र चीनको टकराव बढ्ने स्पष्ट छ । यसले सत्ता देखि भावी राजनीतिमा समेत असर पर्ने संकेतहरु देखिइसकेका छन् ।

विगतमा कम्युनिस्टहरुलाई एक बनाएर चीनले आफ्नो उपस्थिति बढाउन सकेको थियो । उसले फेरि कम्युनिस्ट मिलाउने रणनीतिलाई गति दिन थालेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरु ओली र प्रचण्ड मिलाउन सक्रिय भएका छन् । ओली र उपेन्द्र यादवको भेट भइसकेको छ । माधव नेपालमाथि नेकपा एसमा एमालेसँगको एकीकरणको दबाब बढेको छ । यी दबाबहरु बढ्दै जाँदा आगामी चुनावसम्म घटनाक्रम नयाँ ढंगले विकास हुनसक्ने देखिन्छ ।

कम्युनिस्ट पार्टी फुट्न नदिन चिनियाँ अधिकारीहरु खुलेरै लागेका थिए । चिनियाँ राजदूत होउ यान्छी त्यतिबेला निकै सक्रिय भइन् । अमेरिकाको नेपालमा बढ्दो उपस्थितिबाट सतर्क बनेको चीनले फेरि सक्रियता बढाउन थालिसकेको छ ।सामरिक रुपमा संवेदनशील ठाउँमा रहेको नेपालमा अमेरिका र चीनको टकराव स्वाभाविक पनि हो । तर, यो टकराव पेचिलो बन्दै जाँदा आन्तरिक राजनीति अस्थिर बन्न सक्छ । ओलीले खुलेआम अमेरिकी सक्रियताको विरोध गरेका छन् । उनले अमेरिकी मन्त्री जियाले गुम्बा गुम्बामा स्कटिङसहित भेटेको विषय उठाएका छन् । पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले यो विषय उठाउनृु सामान्य विषय होइन । तर, उनै ओलीले विगतमा चीनलाई असाध्यै खिचेर नेपाल मामलामा ल्याएका थिए । देउवाले पनि ओलीकै शैलीमा अमेरिकालाई खिचेर तानिरहेको देखिदैछ ।

नेपालको राजनीतिमा एउटा महाशक्तिलाई खिचेर अर्को महाशक्तिलाई अप्ठ्यारो पार्ने कार्यशैली सत्तामा रहनेहरुमा देखिदै आएको छ । शक्ति सन्तुलन कायम राख्ने चार्तुयता देखाउने भन्दा कुनै एक महाशक्तिसँग बढी निकटता बनाउने शैलीले समस्याहरु ल्याउने गरेको छ । स्वयं सत्तामा चुनौती आउने देखि देशको राजनीतिक स्थिरतामा समेत चुनौती बढ्ने गरेको छ । अमेरिकाविरुद्ध चिनियाँ कार्ड र चीनविरुद्ध अमेरिका कार्डले राजनीतिलाई चुनौतीपूर्ण बनाउँदै लाने देखिएको छ ।
– रिपोर्टरस नेपालबाट

धेरै कमेन्ट गरिएका

ताजा उपडेट