विराटनगर महानगरका वडामा खुम्चिए कांग्रेस र जसपा, माओवादी/ समाजवादी जिरो भए

सेयर गर्नुहोस

हेटाैटा ।
विराटनगर महानगरपालिकामा एमालेले वडा अध्यक्षहरुको संख्या तेब्बर बनाएको छ। तर, कांग्रेसले दोब्बर र जनता समाजबादीले तेब्बर घटाएका छन्। विराटनगर महानगरपालिकाको जम्मा १९ वडामध्ये ९ वटा वडामा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । यहाँ एमालेले पहिले ३ वटा वडा मात्र जितेको थियो । २०७४ मा दश वटा वडा जित्न सफल कांग्रेसले यसपाली ६ वडा मात्र जितेको छ । पहिले ८ वडा जितेको जसपा यसपाली दुई वडामा खुम्चिएको छ।

विराटनगर महानगरमा राप्रपाले एक र स्वतन्त्रले एक वडा जितेका छन् । यहाँ एकिकृत समाजवादी र माओबादी केन्द्रले एउटा पनि वडा जित्न सकेनन् । विराटनगर महानगरको १ नम्बर वडामा एमालेका काजिबहादुर बस्नेत, २ मा कुमार पोखरेल ३ मा बासुबहादुर बस्नेत ४ मा जितन थापा ८ मा राम पोखरेल १० मा अर्जुन गिरी ११ मा तीर्थेन्द्र न्यौपाने १४ मा सुर्यनारायण महतो र १९ नम्बर वडामा एमालेका श्याम घिमिरे अध्यक्षमा निर्वाचित भएका छन । कांग्रेसबाट ५ नम्बरमा सन्तोष न्यौपाने ६ नम्बरमा हरिशचन्द्र सहनी ७ मा मधुबाबु तिवारी ९ मा विश्नाथ भगत १५ मा प्रकाश साह र १६ मा उद्धवकुमार भुजेल विजयी भएका छन् । जनता समाजबादीबाट वडा नं १७ मा समिम कमर मियाँ र १२ नम्बरमा हिरालाल कामत विजयी भएका छन् । वडा नं १३ मा राप्रपाका सुर्यलाल यादव र १८ मा स्वतन्त्रतर्फका जितेन्द्र कुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा १० वडा जितेको कांग्रेस यसपाली ६ र ७ वडा जितेको जसपा २ वडामा खुम्चिएको छ । पहिले ३ वडा मात्र जितेको एमालेले ९ वटा वडामा नेतृत्व लिएको छ । पहिले एउटा पनि वडा जित्न नसकेको राप्रपाले यसपाली एउटा वडा जितेर विराटनगरमा आफनो उपस्थिती बढाएको छ । विराटनगरमा माओवादी केन्द्र र एकिकृत समाजबादीले एउटा सदस्य समेत जित्न सकेनन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले एउटा वडा जितेको भएपनि यसपाली त्यो पनि जोगाउन सकेन ।

केन्द्रीय तहबाट प्रमुख र उपप्रमुखमा गठबन्धन भएपनि वडा तहमा कांग्रेस र जसपाले गठबन्धन गर्न नचाहँदा माओवादी केन्द्र र एकिकृत समाजवादीले सदस्य समेत जिताउन नसकेको नेता कार्यकर्ताहरु बताउँछन् ।विराटनगरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला प्रमुखमा र उपप्रमुखमा एमालेकी शिल्पा कार्की निर्वाचित भएका छन ।

Facebook Comments Box