२ भाद्र २०७९, बिहीबार

चीनमा बढ्दै गरेकाे कोरोना महामारीका कारण एसियाली खेलकुद स्थगित

चीनको हानझाउ सहरमा आयोजना हुने भनिएको १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो। चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो।

तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ। नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो। उक्त प्रतियोगिताका लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ। रासस

…….

तालिबान शासित अफगानिस्तानमा चरम भोकमरी
अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ। दुई करोड २० लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन्, जुन संख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो। करिब ९७ प्रतिशतभन्दा बढी अफगानी खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ।

गत वर्षको अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकासिएको छ। अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एकतिहाइले घटेको जनाएको छ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा तीन लाख ७६ हजार एक सय ३९ जनालाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ। विश्लेषकहरूले औँल्याएअनुसार धेरैजसो अफगानीका लागि ईद–उल–फित्रमा आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो संघर्षपूर्ण रह्यो। इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ।

अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको हो। जसले गम्भीर आर्थिक संकट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ। रासस/एएनआई

धेरै कमेन्ट गरिएका

ताजा उपडेट