म्याग्दीमा २ सय ३७ पदमा ७ सय ५९ जनाको उम्मेदवारी

म्याग्दी – वैशाख ३० गते हुन लागेको पालिका चुनाव अन्तर्गत म्याग्दीमा दुई सय ३७ पदका लागि सात सय ५९ जनाले मनोनयन दर्ता गराएका छन् ।
म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
“प्रमुख/अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडाध्यक्षमा एक सय ६०, खुला सदस्यमा दुई सय ८०, महिला सदस्यमा एक सय २९ र दलित महिला सदस्यमा एक सय ३० जनाको उम्मेदवारी परेको छ” उहाँले भन्नुभयाे, “दाबी–विरोध, छानविन, आवश्यक कारबाही र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कूल उम्मेदवार सङ्ख्या कायम हुनेछ ।”
बेनी नगरपालिकाको ५२ पदमा एक सय ७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा एक सय ४७, मङ्गलाको २७ पदमा एक सय पाँच, रघुगङ्गाको ४२ पदमा एक सय ४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ । म्याग्दीका ६ स्थानीय तहमा ४५ वडा र ८५ हजार ३७५ मतदाता छन् । कूल मतदातामध्ये ४१ हजार चार सय १४ पुरुष, ४३ हजार नाै सय ६० महिला र एक तेस्रोलिङ्गी छन् । यस्तै ७४ मतदानस्थल र एक सय १४ मतदान केन्द्र छन् ।
धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा एकल उम्मेदवारी परेकाले नेकपा (माओवादी केन्द्र)का सीताकुमारी छन्त्याल निर्विरोध हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । यस्तै बेनी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ माओवादी केन्द्रको चुनाव चिह्न लिएर बेनपा–६ को वडा सदस्यमा उम्मेदवार बन्नुभएको छ ।
माओवादी केन्द्रबाट मङ्गला गाउँपालिका–१ कुहुँको वडा सदस्यकी उम्मेदवार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा ज्येष्ठ र नेशनल मङ्गोल अर्गनाइजेशनबाट मङ्गला गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार २४ वर्षीय भूमि घर्तीमगर सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।
