हेटाैँडाकाे मेयर आफ्नै पार्टीले पाउनुपर्ने भन्दै कांग्रेस मकवानपुर कार्यालयमा ताला

मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आज मङ्गलवार पार्टीका असन्तुष्ट कार्यकर्ताले ताला लगाएका छन् । हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै हेटौँडा २ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ताले ताला लगाएका हुन् ।
आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यायलमा नगरका सभापतिहरूसहितको बैठक भइरहँदा पार्टी कार्यालयमा ताला लगाइएको हो । बैठकमा सहभागी नेता, कार्यकर्ताले गठबन्धन आवश्यक नरहेको समेत जनाएका छन् ।
कांग्रेस उपमहानगरपालिका कमिटीका पदाधिकारी र १९ वडाका सभापतिको बैठकले पार्टीले मेयर नपाएको अवस्थामा गठबन्धनबाट अलग रहेर चुनावमा भाग लिने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका नेता तथा मेयरमा सिफारिस आनन्दराम पराजुलीले बताउनुभयो ।
गठबन्धनको छलफलका क्रममा कांग्रेसले मेअर छोडेको अपुष्ट खबर बाहिर आएपछि कांग्रेस नेता, कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् । पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकले हेटौँडाको मेअर नेकपा एकीकृत समाजवादीलाई दिने औपचारिक प्रस्ताव गरेपछि हेटौँडा उपमहानगर समितिले यस्तो निर्णय गरेको हो ।
