एमाले गठबन्धनको पक्षमा छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

सेयर गर्नुहोस

चितवन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्।

प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।’

स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए।

‘स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, त्यो आज मात्रै होइन,’ उनले भने, ‘विसं २०४८ को संसदीय निर्वाचनमा पनि लोकल एडजस्टमेन्टका अभ्यास हामीले गर्ने कोशिस गरेका थियौँ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पारे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने‚ ‘हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनका पक्षमा निर्वाचन लड्दैनौं।’

उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन आए पनि एमाले एक्लै काफी हुने जिकिर गरे। एमालेले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने आफूहरुको प्रयत्न हुने पोखरेलले बताए।

‘उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन भनिएको छ, केका लागि दुई दिन चाहियो?,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘कहीँ नभएको नियम यहाँ लगाइँदैछ।’

निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उनको भनाइ छ।

Facebook Comments Box