कपिलबस्तु जिससमा कांग्रेस प्यानल विजयी
कपिलवस्तु ,भाद्र २ । अाज भएकाे जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा प्रमुखमा नेपाली कांग्रेसका नारायण खनाल निर्वाचित भएका छन् ।
कुल ९ सदस्यीय समितिकाे निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको समेत समर्थन पाएका खनालले १२ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार नेत्रराज गिरीले ७ मत मात्र पाएका थिए ।
त्यसैगरि उपप्रमुखमा कांग्रेसकै तारावतीकुमारी चौधरीले १२ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सन्दीपकुमार पाण्डेले ७ मत पाएका थिए।
महिला सदस्यमा कुन्ती पासिन, प्रमिला मल्ल, सठिया थरुनी दलित तथा अल्पसंख्यक सदस्यमा काजु ताडिवान निर्वाचित भएका छन् ।
सदस्यहरुमा तेजबहादुर सिंह रायमाझी, अनुपकुमार पाण्डेय, घनश्याम मौर्य, निर्वाचत भएका मुख्य निर्वाचन अधिकृत विश्वमंगल आत्रेयले जानकारी दिए । कुल ९ सदस्यीय जिल्ला समन्वय समितिमा १७ जनाको उम्मेदवारी परेको थियो ।
जिससमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र तथा राजपा नेपालले तालमेल गरेका थिए भने एमालेलाई संघीय समाजवादी फोरमले साथ दिएको थियो ।