२८ भाद्र २०८१, शुक्रबार

उद्योग सञ्चालकबाट पीडित महिलाद्वारा आत्महत्या

Kapilbastu-Suicide

१ कात्तिक, कपिलवस्तु ।

बुढेसकालको साहारा एकमात्र छोराको दुर्घटनामा दुःखद मृत्यु भएपछि मन भुलाउने बाटो खोज्दै अर्घाखाँची ठाडाको फुसको छानो छाडेर कपिलवस्तु बसाइँ सरेको एक परिवारमा फेरि बज्रपात भएको छ ।

छोराको अकल्पनीय निधनको पीडा सहँदै आएको परिवारले जन्म दिने आमा नै अस्वाभाविक रुपमा गुमाउनु परेको छ । साँझ-बिहानको छाक टार्न कपिलवस्तुको बाणगंगा नगरपालिका-१४ देउवापारस्थित पाँचतारा खाद्य उद्योगमा कार्यरत खेमकला बेल्वासेले घर नजिकैको ‘रुखमा झुण्डिएर आत्महत्या’ गरेकी छन् ।

खेमकलाको शव शुक्रबार राति घर नजिकैको रुखमा भुण्डिएको अवस्थामा फेला परेको थियो । घरको ढोका दुबैतर्फ बन्द भएको र घर माथिको छतबाट हाम फालेर किम्बुको रुखमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । तर, मृतक रुखमा झुण्डिएको भएता पनि खुट्टाले भुइँमा टेकेको अवस्थामा शव फेला परेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

त्यसैले यो घटना गम्भीर र रहस्यमय भएको स्थानीय भोजराज भट्टराई बताउँछन् । उद्योगका सञ्चालक गिरीराज पौडेलले पटक-पटक अमानवीय र अपमानजनक व्यवहार गर्दै करणीको प्रयास गरेकाले खेमकलाले बाध्य भएर आत्महत्या गरेको उद्योगमा कार्यरत मृतकका श्रीमान भविश्वर बेल्बासेले दाबी गरे ।

Kapilbastu-suicide-2आइतबार दिउँसो स्थानीय महिलाहरुले यस्ता घटनाले आफूहरु समेत असुरक्षित भएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्न माग गर्दै उद्योग सञ्चालक पौडेलको बोडगाउँस्थित घर घेराउ गरेका थिए ।
खेमकलाले आत्महत्या गर्नुभन्दा अघिल्लो साँझ अमानवीय र अपमानजनक व्यवहार सहन नसकी रोइकराई गरेकी थिइन् । त्यसपछि उद्योगका सञ्चालक पौडेलले पीडित परिवार समक्ष अमानवीय कार्य नदोहोर्‍याउने र चाहिएअनुसार पैसा दिने गरी गैरकानुनी कागज गर्नुले पनि घटना नियोजित र रहस्यमय बनेको स्थानीयको भनाइ छ ।

मृतककी छोरी मनिका बेल्बासेले आमालाई शारिरीक तथा मानसिक यातना दिँदै आएकोले पीडकले नगद दिएर घटना गोप्य राख्न खाजेको आरोप लगाइन् ।

छोरी मनिकाले पत्रकारहरुसँग भनिन्, ‘प्रहरीमा उजुरी गर्दा प्रहरीले उजुरी नसुन्नु र आवाज विहीनको लागि प्रशासन मौन बस्नु गम्भीर विषय हो ।’

मृतकका भाई धनिश्वर घिमिरेले प्रहरीले अनुसन्धान नगरी दाहसंस्कार गर्न जवरजस्ती कागज गराउन खोजेको आरोप लगाए ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले मृतकका श्रीमानले प्रहरीमा किटानी जाहेरी दिएकाले घटनाको गहिरो अनुसन्धान गरी दोषी ठहरिए कारबाही गरी छाड्ने प्रतिबद्धता जनाए । पोख्रेलले पोष्टमार्टमको रिपोर्टका आधारमा अनुसन्धान गरिने बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट