काँग्रेसले आफ्नो पक्षधरलाई वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरेको आरोप

कपिलवस्तु, ।स्थानीय तहको निर्वाचन नजिकै जाँदा राजनीतिक दलका नेताले आ–आफ्नो नजिकका मान्छेलाई विभिन्न पदमा नाम सिफारिस गर्ने चलखेल सुरु गरिएको पाइएको छ । सत्ताको लोभमा पार्टीको विधानको नीति, नियमसमेत मिच्दै लामो समयदेखि आफ्नो पार्टीमा योगदान पु¥याएका व्यक्तिलाई प्राथमिकतामा नराखी दलबलको आडमा आफ्नो मान्छेलाई नाम सिफारिसको चलखेल सुरु गरिएको छ ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरिएको पाइएको छ । वडा नम्बर १० मा नेपाली काँग्रेसका एक वडा सभापतिले आफ्नो पक्षधरलाई वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरिएको आरोप लागेको छ ।
वडा नम्बर १० का वडा सभापति शब्बर पठानले आफ्नो नजिक र पक्षधरलाई बैठकमा बोलाई मनोमानी र एक्लो ढङ्गले वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरेको भन्दै क्षेत्र नम्बर ३ ‘क’ प्रदेश सदस्य राकेश सिंह रायमाझीले आपत्ति जनाउनुभएको छ । रायमाझीले यसरी नेपाली काँग्रेसको विधान विपरीत रहेको भन्दै आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
“एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा गैरजिम्मेवार तरिकाले नेपाली काँग्रेसको नवौँ संशोधित विधान विपरीत मलाई जानकारीसमेत नगराई बैठक बोलाई चलखेल गरेको कार्यप्रति मेरो ध्यानाकर्षण भएको छ” भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राकेश सिंह रायमाझीले भन्नुभयो “वडा अध्यक्ष पदको लागि म पनि एक प्रत्यासी रहेको छु, पटक–पटक वडाकै सभापतिलाई अवगत गरेको तर वडा सभापतिले आफ्नो पक्षधरलाई वडा अध्यक्षमा उम्मेदवारको नाम सिफारिस गरिएको छ” । पार्टीको विधान विपरीत यसरी वडा सभापति शब्बर पठानले गरेको निर्णय स्विकार नहुने रायमाझीले बताउनुभयो ।
यता वडा सभापति शब्बर पठानले वडा समितिको बैठकको निर्णय अनुसार उम्मेदवारको नाम सिफारिस गरेको दाबी गर्नुभएको छ । उहाँले प्रदेश सदस्य रायमाझीले वडा समितिको कुनै पनि बैठकमा पनि उपस्थित नहुने बताउँदै पार्टीको नीति, नियममै रहेर उम्मेदवारको नाम सिफारिस गरेको जनाउनुभयो ।
राकेश सिंह रायमाझीको पक्षमा कोही पनि नरहेको पठानको भनाइ छ । सभापति पठानले रायमाझीले लगाएको आरोप गलत भएको जिकिर गर्दै एक्लौटी ढङ्गले नभएर वडा समितिको बैठकले गरेको निर्णय अनुसार उम्मेदवारको नाम सिफारिस गरिएको बताउनुभयो ।
