सबै दलले गठबन्धन गरेपनि एमालेलाई हराउन अध्यक्ष ओलीको चुनौती

कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन मात्रै होईन मुलुकका सबै राजनैतिक दलको महागठबन्धन निर्माण गरे पनि नेकपा एमालेलाई परास्त गर्न नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटि कपिलवस्तुद्धारा आयोजित पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले देशलाई डिजिटर आधुनिक नेपाल निर्माण गर्ने बताए । ओलीले सत्तारुढ दल प्रति संकेत गर्दै बैसाखी टेकेर एमाले सँग लड्न नसकिने भन्दै एमालेलाई हराउन चुनौती दिए । उनले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने बताए ।
हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे ।
कार्यक्रममा संघीय सांसद वृजेश कुमार गुप्ता स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित गुप्ता एमाले प्रवेश गरेका छन् । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
गुप्ता सँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं. ८ अध्यक्ष साहवुद्धिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गरेका छन् । सांसद गुप्ता ७ हजार कार्यकर्ता सहित प्रवेश गरेका छन ।
यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेलले एमालेको खवरदारी कै कारण स्थानीय तह निर्वाचनको मिति घोषणा भएको बताए । यस्तै एमाले महासचिव शंकर पोख्रेलले आगामी दशकहरुमा केपी ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमालेले देशमा सम्बृद्धीको आधारशिला खडा गरेको कारण विपक्षीहरु डराएको समेत दाबी गरे ।
