चुनाव उपयोग प्रतिवेदनमाथि विप्लव अल्पमतमा

सेयर गर्नुहोस

कपिलवस्तु – नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक सातादेखि जारी केन्द्रीय समितिको बैठक आज सकिदै छ। त्यसअघि महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

कपिलवस्तुको शिवगढीमा ४ चैत देखि सुरु भएको केन्द्रीय समितिको १२औं बैठकमा विप्लवले स्थानीय चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि हप्ता दिनसम्म छलफल हुँदा विप्लव अल्पमतमा परेका छन्।

एक केन्द्रीय सदस्यका अनुसार ६९ जनाको केन्द्रीय समितिमा ४० जना चुनाव उपयोग गरेर जानुपर्ने उपयोगको विपक्षमा उभिएका छन् भने २४ जना मात्रै पक्षमा खुलेका छन् । बाँकी तटस्थ रहेका छन्। सल्लाहकारमा पनि अधिकांश चुनाव बहिस्कारको पक्षमा उभिएका छन् ।

चुनावमा जाने मत अल्पमतमा परेपछि चुनावको पक्षमा रहेका महासचिव विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विपक्षमा उभिएका नेताहरुलाई फकाउने प्रयासमा लागेका थिए ।

बैठक रोकेरै उनीहरुले शुक्रबार र शनिबार विपक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई मनाउने कोसिस गरेका थिए।

Facebook Comments Box