म्याग्दीमा ८७ हजार बढी मतदाता, २० दलले चुनाव लड्ने

सेयर गर्नुहोस

म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा २० राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार ६ ठूला दलबाहेक १४ वटा साना दलले निर्वाचन प्रयोजनका लागि कार्यालयमा निवेदन दिएका छन्।

निर्वाचन कार्यालयले दल दर्ताका लागि चैत ६ गते सम्मको मिति तोकेको थियो। उक्त मितिमा राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरुले निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरेका हुन। जिल्लाभर ८७ हजार ३ सय १८ मतदाता रहेका छन्।

राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना १४ दलले चुनाव चिह्नका लागि विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिए।

साना दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि आयोगले यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो। आयोगले तोकेको समयमा जिल्लामा रहेका १४ दलले पार्टीको विवरण सहित निवेदन बुझाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनमोर्चा,राष्ट्रिय जनमुक्ति, मंगोल नेशनल अर्गनाइजेशन,नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएका छन्।

यसैगरी नेपाली काँग्रेस (वि.पी),राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल दलित पार्टी,जनसमाजवादी पार्टी नेपाल,विवेकशील साझा नेपाल, नेपाल मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी र उन्नत लोकतन्त्र पार्टी र समाजिक एकता पार्टीले दल दर्ताका लागि निर्वाचन कार्यालयमा निवेदन दिएका हुन्।

निवेदन दिएका दलहरुको विवरण आयोगमा पठाइएको र आयोगले ती दलहरुलाई चुनाव चिन्ह दिने सूचना अधिकारी शर्माले जानकारी दिए।

कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। वैशाख १३ गते सम्म मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ।

आयोगले तोकेका कार्यक्रमलाई जिल्ला निर्वाचन कार्यालयले प्रभावकारी रुपमा कार्यन्नवय गर्दै लैजाने सूचना अधिकारी शर्माले बताए।

सूचना अधिकारी शर्माले दिएको जानकारीअनुसार जिल्लामा ७४ मतदान स्थल र एकसय १९ मतदान केन्द्र निर्धारण गरिएको छ। यसपाली मंगला गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ८ नागी गरी दुईवटा मतदान स्थल थपिएको सूचना अधिकारी शर्माले जानकारी दिए।

यस्तै उनले दिएको जानकारी अनुसार यसपटक ९ वटा मतदान केन्द्र थपिएका छन्।

यदि उम्मेदवारले नाम फिर्ता लिन चाहे वैशाख १६ गतेको समय छुट्टाइएको छ। आयोगले वैशाख १६ गते त साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने १७ गते चुनाव चिह्न प्रदान गर्ने उल्लेख गरेको छ। त्यस्तै, उम्मेदवारहरूको लागि वैशाख २७ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ।

यसैगरी ३० वैशाख बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको तालिका सार्वजनिक गरेको छ। निर्वाचनको तयारीस्वरुप चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ।

Facebook Comments Box