चीन सरकारका कारण भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन सकिएन : मन्त्री खतिवडा
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा हालसम्म पनि वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । मंगलबार चाँगुनारायण नगरपालिका–१ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरेको भएपनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन् ।
चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमति गराउने प्रयास गर्ने पनि उनले बताए । उनले भने, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । सत्य कुरो के हो भन्दा चीनले दिन्छ भन्ने आँट र आशमा हामीले यसलाई अगाडि बढायौँ । विभिन्न कारणले डिस्टर्ब भयो । कोरोना आएर डिस्टर्भ भयो । अब यसलाई हामी अगाडि बढाउँछौँ ।’
उनले थप भने, ‘मलाई लाग्छ परराष्ट्रमन्त्रीको भ्रमण पर्सी २५ गते यो एजेण्डालाई हामीले प्रवेश गर्न सक्यौँ र परराष्ट्र मन्त्रीमार्फत् चिनियाँ सरकारलाई सहमति गराउने स्थितिमा पुग्यौँ भने यो प्रोजेक्ट अगाडि बढ्छ, बढाउनुपर्छ । यदि कारणवश भएन भने, लुरे तालले भएपनि, ताते जस्तो गरेर हिडेर भएपनि नेपाल सरकार आफैँले पनि जसरी निजगढको फाष्टट्रयाक आफैले आँट गरेर सुरु गरेको थियो, जतिसुकै छुट्याएर यसलाई प्रारम्भ गर्दै काम सुरु गर्दै, दाता पनि खोज्दै, सहयोगी पनि खोज्दै हामी अगाडि बढ्नुपर्छ ।’
