“चिनियाँ ऋणले थिचिएका देशहरु जसको अर्थतन्त्र धरासायी”

सेयर गर्नुहोस

एजेन्सी ।
काठमाडौं : ९ चैत २०७८ , बुधबार
चीनले गरिब देशलाई ऋण दिन अपनाइरहेको विधिले सम्बन्धित देशले ऋण र त्यसको ब्याज तिर्नै नसक्ने अवस्था बनेपछि चीनको अन्तर्राष्ट्रिय छवि धुमिल भएको छ। चीनले गरिब देशलाई ऋणको पासोमा पारेर आफ्नो रणनीतिक स्वार्थमा प्रयोग गरेको भन्दै विज्ञले आलोचना गरेका छन्। गरिब देशलाई ऋण तिर्न सक्ने क्षमता नै नहेरी ऋण प्रवाह गरिदिने र कडा शर्तसँगै आफ्नो लगानी र ब्याज फिर्ता माग्ने गरेकाले धेरै देश अहिले चीनको ऋण बोझबाट मुक्त हुन संघर्ष गरिरहेका छन्। चीनको ऋण तिर्न नसक्दा धेरै देश आर्थिक संकट झेलिरहेका छन्।

चिनियाँ ऋणको पारदर्शितामासमेत प्रश्न उठ्ने गरेको छ। चीनले ऋण दिने प्रक्रिया, क्षमता, प्रतिबद्धता तथ्याङ्कमा उल्लेख नहुँदा हुँदा ऋण लिने देश जोखिममा छन्। चीनले अन्तर्राष्ट्रिय विकास सहायतामा अनुदान भन्दा पनि ऋणमा जोड दिने गरेको छ। वैदेशिक सहयोगमा चीन पारदर्शी नभएको र विश्व विकासमा वित्तीय श्रोतको परिचालन हुँदा आफ्नो मात्र नाफा हेर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

खबरहब

चिनियाँ ऋण लिएर संकटमा परेका देश:

श्रीलंका

श्रीलंकालाई पूर्वाधार निर्माण परियोजनाका लागि लगानी गर्न चीनबाट लिएको ऋणको धरापमा परेको मुलुकको गतिलो उदाहरण हो।

श्रीलंकाले चीनबाट सन् २०१० देखि सन् २०१५ सम्म ६.३ प्रतिशतसम्मको ब्याजदरमा ५ अर्ब अमेरिकी डलर ऋण लिएको थियो। यही ऋणमार्फत् श्रीलंकाले अत्यन्त महत्वाकांक्षी हम्बनटोटा बन्दरगाहको पूर्वाधार निर्माणमा लगानी पर्यो।

चीनको ऋण तिर्न नसकेपछि भने श्रीलंकाले चाइना मर्चेन्ट होल्डिङ्स लिमिटेड नामक चिनियाँ कम्पनीलाई हम्बनटोटा बन्दरगाह सन् २०१७ मा १ अर्ब १२ करोड अमेरिकी डलरमा ९९ वर्षका लागि भाडामा दिनुपरेको थियो।

ऋण तिर्न नसकेपछि श्रीलंकासँग कुनै उपाय भएन। बाध्य भएर चीनलाई बन्दरगाह नै सुम्पिनु परेको घटनालाई गरिब मुलुकहरुलाई ऋण पासोमा पार्ने चिनियाँ रणनीतिको गतिलो उदाहरणका रुपमा लिने गरिन्छ।

अहिले श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ। यो वर्षमात्रै श्रीलंकाले झण्डै ७ अर्ब अमेरिकी डलर विदेशी ऋण तिर्नुपर्ने छ। फेब्रुअरी महिनाको अन्त्यसम्म त्यहाँ केबल २ अर्ब ३० करोड अमेरिकी डलर बराबर मात्रै विदेशी मुद्राको सञ्चिती छ।

पाकिस्तान

पाकिस्तान ऋण संकटमा रहेको अर्को मुलुक हो। अन्तर्राष्ट्रिय मुद्राकोषको पछिल्लो प्रतिवेदनअनुसार पाकिस्तान हाल ९२ अर्ब अमेरिकी डलरको ऋणमा फसेको छ। यसमध्ये १८ अर्ब ४० करोड ऋण त पाकिस्तानले चीनबाट मात्रै लिएको छ।

यसबाहेक पाकिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर ‘सिपेक’ परियोजना निर्माण गरेबापत चीनलाई आगामी २० वर्षभित्र ४० अर्ब अमेरिकी डलर तिर्नुपर्ने छ। उक्त परियोजना निर्माणका लागि २६ अर्ब ५० करोड अमेरिकी डलर बराबरको खर्च भएको थियो।
वर्तमान प्रधानमन्त्री इमरान खानको सरकारले आफ्नो कार्यकालमा मात्रै विदेशबाट ३० अर्ब भन्दा धेरै विदेशी ऋण लिएको छ। पाकिस्तानको ऋण चालू आर्थिक वर्षमा १ खर्ब डलर बराबर पुग्ने अनुमान गरिएको छ।

किर्गिजस्तान
मध्य एसियामा अवस्थित किर्गिजस्तान तुलनात्मक रूपमा गरिब मुलुक हो। अचम्मको कुरा के छ भने यो मुलुकले करिब ४० प्रतिशत बाह्य ऋण चीनको एक्जिम बैंकबाट मात्रै लिएको छ।

किर्गिजस्तानलाई एक्जिम बैंकले पूर्वाधार निर्माणका परियोजनाका लागि १ अर्ब ५० करोड भन्दा बढी ऋण दिएको छ।

किर्गिजस्तानमा चिनियाँ ऋण लगानीमा चिनियाँ कम्पनीले ठेक्का लिएर थालिएका पूर्वाधार निर्माण परियोजनामा काम गर्ने मजदुरसमेत चीनबाट ल्याउने गरिएको छ। चीनले किर्गिजस्तानको ऊर्जा क्षेत्रमा १ अर्ब अमेरिकी डलर बराबरको लगानी गरेको छ। यसमार्फत् किर्गिजस्तानले दक्षिण एसियामा ऊर्जा आपूर्ति गर्ने लक्ष्य लिएको छ।

यति ठूलोस्तरमा चिनियाँ ऋण लिएको किर्गिजस्तान पनि चिनियाँ ऋणपासोको रणनीतिमा फस्ने चिन्ता बढेको छ। वान लिड वान (एचके) ट्रेडिङ लिमिटेड नाम गरेको चिनियाँ कम्पनीको २८ करोड अमेरिकी डलरको लगानीमा थालिएको रसदकेन्द्र परियोजना स्थानीयको प्रदर्शनका कारण केही वर्षअघिमात्रै बन्द गर्नु परेको थियो।
मालदिभ्स

मालदिभ्सका तीन महत्वपूर्ण परियोजनामा चीनको ऋण लगानी छ। चीनले मालदिभ्सको हुलहुमले टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा ८३ करोड अमेरिकी डलर ऋण लगानी गरेको छ।

लाओस

दक्षिणपूर्वी एसियाको सबैभन्दा गरिब राष्ट्र मानिने लाओसले निकै ठूलोस्तरमा चिनियाँ ऋण लिएको छ। खासगरी बीआरआई परियोजनासँग सम्बन्धित चीन–लाओस रेलमार्ग निर्माणका लागिमात्रै लाओसले चीनबाट अनुमानित ६ अर्ब ७० करोड अमेरिकी डलरको ऋण लिएको छ।

मंगोलिया

चीन र रुसका बीचमा अवस्थित भूपरिवेष्ठित मुलुक मंगोलियाले सडकमार्ग र जलविद्युत परियोजनाका लागि सन् २०१७ मा चीनको एक्जिम बैंकबाट १ अर्ब अमेरिकी डलर ऋण लिएको थियो।

जिबौटी

अफ्रिकाको उत्तर पूर्वमा अवस्थित गरिब मुलुक जिबौटी आफ्नो कूल गार्ह्रस्थ उत्पादनको ८० प्रतिशतभन्दा धेरै ऋणमा फसेको छ। जिबौटीको ऋणमा चीनको सबैभन्दा धेरै हिस्सा छ। चीनले मात्रै जिबौटीमा १ अर्ब ४० करोड भन्दा धेरै ऋण लगानी गरेको छ।

अंगोला

चीनको ऋणपासो कूटनीतिको अर्को उदाहरण हो दक्षिण पश्चिम अफ्रिकी मुलुक अंगोला। अंगोला उक्त महादेशकै सबैभन्दा ठूलो तेल उत्पादक मुलुक पनि हो।(विभित्र एजेन्सीबाट)

Facebook Comments Box