राजपाका सांसद बृजेशकुमार गुप्ताको अगुवाइमा निकालिएको र्‍याली

सेयर गर्नुहोस

कपिलवस्तु  ।  संविधान संशोधन बिना नै हुन लागेको स्थानीय तहको निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले कपिलवस्तुमा मोटरसाइकल र्‍याली निकालेका छन्।                     सदरमुकाम तौलिहवाको प्रशासन चोकबाट निस्केको र्‍याली नगरसहित विभिन्न भागको परिक्रमा गरेको थियो। जिल्लाको क्षेत्र नम्बर ३ का सांसद बृजेशकुमार गुप्ताको अगुवाइमा निकालिएको र्‍यालीमा सहभागीहरुले सत्तापक्षका प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरुले तराइ मधेसमा कुनै हालतमा पनि निर्वाचन हुन नदिने चेतावनी दिएका दिए। सांसद गुप्ताले मधेसीहरुको माग संबोधन नभइ गरिन लागेको चुनाव असफल पार्ने बताएका छन्। भोलि तौलिहवामा बृहत रुपमा प्रतिकारात्मक आन्दोलन गर्ने उनले बताएका छन्।

मधेस केन्द्रित बिभिन्न दलहरुले विगतका आन्दोलनमा पार्टीको झण्डा मात्र प्रदर्शन गर्दै आएकामा राजपाको जारी आन्दोलनमा राष्ट्रिय झण्डालाई पनि प्राथमिकता दिएका छन्। राजपाले बिहिबार तौलिहवामा आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीमा पार्टीको झण्डासँगै चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा फहराएका थिए। र्‍यालीमा सहभागी भएका तमलोपाका जिल्ला उपाध्यक्ष तथा राजपाका नेता धर्मबहादुर लाल श्रीवास्तव राष्ट्रिय झण्डा बोकेर हिँडेका थिए। ‘राष्ट्रिय झण्डा कुनै पार्टी, व्यक्तिविशेष र सम्प्रदायको होइन, सबै नेपालीको साझा हो’, ‘पार्टीका जिल्ला संयोजक कैलाश अग्रहरिले भने, ‘राजपा देश टुक्र्याउने कुरा गर्दैन, त्यसैले अहिलेको आन्दोलनमा राष्ट्रिय झण्डाको प्रयोग गरेका हौं।’

राजपा अध्यक्ष मण्डलका जिल्ला संयोजक डा। कालिपद शर्मा जनसनले सबैको साझा भएकाले यसपालिको आन्दोलनमा राष्ट्रिय झण्डा प्रयोग गरेको बताउँछन् । कार्यकर्तामध्ये पनि कतिपयले पार्टीको र कतिपयले राष्ट्रिय झण्डा र कतिपयले कालो झण्डा समेत बोकेका थिए।

राजपाले मंगलबारदेखि कपिलबस्तुसहित मधेस, थरुहट र लिम्बुवान बन्दको घोषणा गरेको छ। केन्द्रीय निर्णय बमोजित राजपाले आयोजना गरेको मधेस, थरुहट तथा लिम्बुवान बन्दको बिहीबारको तेस्रो दिन पनि कपिलवस्तुको मधेसी बाहुल्य क्षेत्र पुर्ण रुपमा प्रभावित भएका छन्। सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका थिए। शिक्षण संस्था, कलकारखाना, बजार पनि बन्द गराएका थिए।

Facebook Comments Box