२५ मंसिर २०८१, मंगलवार

राजपाका नेताले विमलेन्द्र निधि चढेको गाडीको झण्डा जलाए

जनकपुरधाम, २९ जेठ – राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले नेपाली कांग्रेसको झन्डा र ब्यानर जलाएका छन् ।

आइतबार पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चढेको गाडीको झन्डा र ब्यानर जलाइएको हो । पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर आउनु भएका कांग्रेस नेता निधिको स्वागतका लागि गाडीमा राखिएको झन्डा र ब्यानर खोसेर राजपाका कार्यकर्ताले जलाएका हुन् ।

स्थानीय शिव चोकमा राजपाका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ता सवार गाडी रोकेर त्यसमा लगाएको पार्टीको झन्डा र ब्यानर खोसेर जलाएका थिए । कांग्रेस नेता कार्यकर्ताहरु सवार रहेको गाडीमा लगाइएको झण्डा जलाउँदै राजपाका नेताहरुले प्रमुख दलहरुको विरोधमा चर्को नाराबाजी समेत गरेका थिए ।

निर्वाचनको प्रचारप्रसार गर्ने खालका कुनैपनि क्रियाकलाप कतैबाट भयो भने त्यसको विरोध आफूहरुले गर्ने र अहिले झण्डामात्र जलाइएको र यदि चुनावप्रचार प्रसार रोकिएन भने प्रचारप्रसारमा प्रयोग हुने गाडीलाई समेत नियन्त्रणमा लिएर जलाइने चेतावनी राजपाका नेताहरुले दिएका छन् ।

राजपाका धनुषा जिल्ला संयोजक परमेश्वर साहले आफूहरुले मधेसको माग पूरा नभएसम्म निर्वाचनको कुनै पनि गतिविधि हुन नदिने उद्घोष गरिसकेको समयमा यस प्रकार प्रचारप्रसार गर्दै हिडेपछि घटना भएको बताए ।

उनले भने, ‘हाम्रा कार्यकर्ताहरुले गाडी रोकाएर झन्डा हटाउन मात्र भनेका थियौं तर कांग्रेसका कार्यकर्ताहरुले गाली गलौज गरेपछि आक्रोशित भएर झन्डा जलाइएको हो । झन्डा जलाउने क्रममा केही बेर सो क्षेत्रमा तनाव समेत सिर्जना भएको थियो । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो ।

शुक्रबार पनि सिरहाको गोलबजारबाट निर्वाचन प्रचारप्रसार सम्बन्धी सामग्रीहरु लिन जनकपुर आएका एक स्वतन्त्र उम्मेदवारको गाडीमा लगाइएको झन्डा खोसेर राजपाका कार्यकर्ताहरुले जलाएका थिए । काठमाडौ टुडेमा खबर छ ।

 

धेरै कमेन्ट गरिएका