साेमबार सांझसम्म १८५ नेपालीले छाडे युक्रेन, ७३ जना पर्खाइमा

काठमाडाैं ।
युद्धग्रस्त युरोपेली मुलुक युक्रेनबाट सोमबार साँझसम्म एक सय ८५ नेपाली बाहिरिएका छन् । जर्मनीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये अधिकांश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरीतर्फ लागेका छन् । स्वदेश फर्किन चाहने नेपालीको संख्याका आधारमा नेपाल सरकारले उनीहरूलाई ल्याउने विषयमा निर्णय गर्ने दूतावासको भनाइ छ ।
‘हाम्रो सम्पर्कमा आउनुभएका २५८जना मध्ये १८५ जनाले युक्रेनबाट चारवटा युरोपेली मुलुक प्रबेश गरिसक्नुभएको छ । युक्रेनमा रहेका नेपालीहरूको संख्या अब न्यून छ, उहाँहरू पनि सुरक्षित हुनुहुन्छ’ युक्रेनका लागि गैरआवासीय नेपाली राजदूत रामकाजी खड्काले जर्मनीको बर्लिनबाट टेलिफोनमा भने, ‘युक्रेनमा रहेकाहरू पनि बिस्तारै सीमा क्षेत्रतर्फ पुग्दै हुनुहुन्छ । अब पूर्वी युक्रेन, राजधानी किभ लगायतका ठाउँमा पनि एकदमै न्यून संख्यामा रहेका नेपालीहरू छाड्ने क्रममा हुनुहुन्छ ।’ सम्पर्कमा रहेका सबै नेपालीहरूसँग राजदुताबासले प्रत्यक्षरुपमा र गैरआबासीय नेपाली संघमार्फत् समन्वय गरिरहेको राजदूत खड्काले जानकारी दिए ।
राजदूत खड्काका अनुसार सोमवार साँझसम्म १३१ जना नेपाली नागरिक पोल्याण्डको अध्यागमन पार गरेर सुरक्षितरुपमा होल्डिङ् सेन्टरमा पुगेका छन् । त्यहाँ उनीहरूलाई बस्ने र खाने राम्रो प्रबन्ध सम्बन्धित सरकारले मिलाएको छ । युक्रेन तथा अन्य युरोपेली मुलुकका नागरिकसँगै नेपालीहरू पनि पुगेका छन् । यसैगरि, २७ जना नेपाली श्लोभाकिया प्रबेश गरेका छन् भने २३ जना रोमानिया प्रबेश गरेका छन् । सोमवार साँझसम्म चारजना नेपालीहरू हंगेरी पुगेका छन् । हंगेरी सरकारले सेन्जेन भिसा विना नै युक्रेनी नागरिक तथा युक्रेनबाट बाहिरिने विदेशी नागरिकलाई प्रबेश दिने घोषणा सोमवार गरेको छ । युक्रेन छाडेर एकजना डाक्टरको परिवार आइतवार स्वदेश आएका छन् भने थप दुई जना डाक्टरहरू मंगलवार काठमाडौं आइपुग्ने पनि राजदूत खड्काले जानकारी दिए ।
‘अब युक्रेनबाट उद्दार हुनुपर्ने नेपाली नागरिकको संख्या न्यून रहेको जानकारी आएको छ’ राजदूत खड्काले नयाँ पत्रिकासँग भने, ‘युक्रेनमै रहेका र बाहिरिएका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ । अहिलेसम्म अप्रिय घटना भएको छैन ।’ युक्रेनमा स्थायी बसोबास गरेका र त्यहीँको नागरिकता लिएका नेपाली भाषाी नागरिक पनि देश छाड्ने तयारीमा छन् । उनीहरू पनि नेपाली राजदूताबासको सम्पर्कमा छन् । उनीहरूमध्ये अधिकांश जर्मनी, टर्की वा अमेरिका जाने तयारीमा छन् ।
