पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर रुसका राष्ट्रपति पुटिनले थाले छलफल
एजेन्सी ।
पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार आफ्ना शीर्ष आर्थिक सल्लाहकारहरूसँग छलफल गरेको क्रेमलिनले जनाएको छ । रुसी मुद्रा रुवलको मूल्य अमेरिकी डलरको तुलनामा अप्रत्यासित रूपले ४० प्रतिशतसम्मले खस्किएपछि रुसले सोमबार मस्को स्टक एक्सचेन्ज बन्द गरेको थियो । रुसी मुद्रा अप्रत्यासित अवमूल्यन भएर बैंक सञ्चालनमै समस्या आउन सक्ने चेतावनी विज्ञहरूले दिएलगत्तै रुसले ब्याजदरलाई दोब्बरभन्दा बढीले वृद्धि गरेर २० प्रतिशत पुर्याएपछि रुबलको मूल्य केही उक्लिएर २० प्रतिशत ऋणात्मकमा स्थिर भएको थियो ।
भारी अवमूल्यन हुँदा रुसी मुद्राको क्रयशक्ति र सर्वसाधारणको बचतमा ठूलो प्रभाव परेको छ । तर, यी वित्तीय प्रभावका बाबजुद रुसले आर्थिक प्रतिबन्धलाई परास्त गर्न कठिन नभएको र त्यससँग जुध्न पर्याप्त आर्थिक सक्षमता रहेको भनेको छ । रुससँग अहिले तेल र ग्याँसको बिक्रीबाट जम्मा गरिएको ६ खर्ब ३० अर्ब अमेरिकी डलरको सञ्चिति छ । तर, सञ्चितिलाई डलर, युरो र स्टर्लिङजस्ता विदेशी मुद्रा र सुनमा बदलेर राखेकाले रुसको केन्द्रीय बैंकमाथि नगद प्रवाहमा दबाब परेको देखिएको छ ।
युक्रेनमथिको रुसी आक्रमणको बदलामा पश्चिमा मुलुकले एकपछि अर्काे आर्थिक प्रतिबन्धका साथै नेटोको सैन्य तैनाथीलाई समेत बढाउन थालेपछि रुसी राष्ट्रपति पुटिनले युक्रेनमा अन्य मुलुकले दखलअन्दाजी गरे ‘आणविक अस्त्र’ उपयोगसमेतको अप्रत्यक्ष धम्की दिएका छन् । ह्वाइट हाउसका प्रवक्ता जेन पास्कीले रुसी राष्ट्रपति पुटिनले रुसको डिटरेन्स युनिटलाई उच्च सतर्कतामा रहन दिएको आदेशलाई क्रमेलिनको ‘तनावलाई अप्रत्यासित रूपले बढाउने’ र ‘उत्पादित धम्की’को संज्ञा दिएका छन् । महासभाको एघारौँ आपत्कालीन विशेष सत्रमा बोल्ने क्रममा महासचिव गुटेरेसले पनि आणविक अस्त्र प्रयोगको धम्कीलाई कसैगरी पनि जायज ठह¥याउन नसक्ने टिप्पणी गरेका छन् ।
