युक्रेनलाई तत्काल युरोपेली संघमा समावेश गर्न जेलेनेस्कीको अनुरोध

एजेन्सी ।
युक्रेनका राष्ट्रपति जेलेनेस्कीले युरोपेली संघलाई युक्रेनलाई तत्काल संघमा समावेश गर्न अनुरोध गरेका छन् । ‘हाम्रो उद्देश्य युरोपेलीहरू सँगसँगै र समान हैसियतमा रहने हो । मलाई यकिन छ हामी यसलायक छौँ । र, यो सम्भव छ भन्ने मलाई विश्वास छ,’ टेलिभिजनबाट प्रसारित सन्देशमा जेलेन्स्कीले भनेका छन् । बिहीबार जेलेन्स्कीले एक भिडियो सन्देश जारी गरेर आफू क्रेमलिनको पहिलो र आफ्नो परिवार दोस्रो नम्बरको निसानामा रहेको बताएका थिए । ‘उनीहरू युक्रेनलाई राज्य प्रमुखविहीन बनाएर राजनीतिक रूपमा धराशायी बनाउन चाहन्छन्,’ जेलेन्स्कीले भनेका छन् । जेलेन्स्की अहिले कहाँ छन् भन्ने गोप्य राखिएको छ ।
गत बिहीबार युरोपेली नेताहरूसँगको फोन संवादमा उनले आफू जीवित नफर्किन सक्ने बताएका थिए । जेलेन्स्कीले शुक्रबार पनि रूसी आक्रमणकारीविरुद्ध युक्रेनको निरन्तर प्रतिरोधको घोषणा गर्दै छोटो भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा युक्रेनी नेताहरू भागेको हल्ला चलेपछि उनको सो पोस्ट जारी भएको थियो ।
जेलेन्स्कीले बारम्बार देश छाडेर नभाग्ने बताइरहेका छन् । विज्ञहरू रुसी फौजले किभ कब्जा गरे भने जेलेन्स्की या त मारिने या रुसको बन्दी हुने बताउँछन् । तर, उचित सञ्चार स्थापित भयो र युद्ध मोर्चामा युक्रेनी फौजले प्रतिरोध जारी राख्न सके भने उनले पश्चिमी युक्रेनबाट सरकार चलाउन सक्ने भनाइ युरेसिया सेनटर फर एट्लान्टिक काउन्सिलका वरिष्ठ निर्देशक तथा युक्रेनका लागि पूर्वअमेरिकी राजदूत निर्देशक जोन हर्बस्टकको छ । ‘अहिलेको मुख्य आशा भनेको रुसले दबाउन नसक्ने खालको बलियो प्रतिरोध उठ्ला कि भन्ने हो,’ हर्बस्ट भन्छन् । युनिभर्सिटी अफ पेन्सिल्भेनियाका रुस तथा पूर्वी युरोपेली अध्ययनका प्राध्यापक मिचेल ओरेनस्टाइन भने जेलेन्स्की किभबाट अपदस्थ भएसँगै पुटिनले आफ्नो छनोटको सरकार गठन गर्ने बताउँछन् ।
जेलेन्स्की युक्रेनबाट भागे सम्भवतः निर्वासित राज्य प्रमुख भएर रहनेछन् । थुप्रै देशको सरकारले विदेशको भूमिबाट निर्वासित सरकार चलाएको उदाहरण छन् । दोस्रो विश्वयुद्धको समयमा, पोलिस सरकार नाजी जर्मनी र सोभियत संघको आक्रमणपछि लन्डन सरेर त्यहीँबाट सञ्चालन भएको थियो । जेलेन्स्कीले निर्वासित सरकारको नेतृत्व गरे त्यो युक्रेनको हार त हुनेछ, तर लगत्तै युद्धको अन्त्य नहुन सक्छ । आगामी केही सातामै रुसले युद्धमा सफलता पाउन सक्छ । यद्यपि, तत्कालीन सफलताले प्रभावशाली प्रतिरोधलाई अन्त्य गर्छ कि गर्दैन ? अन्तर्राष्ट्रिय शक्तिको नजर त्यसमा हुनेछ । एजेन्सीको सहयोगमा
