सहमति हुन नसक्दा जसपा केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

सेयर गर्नुहोस

काठमाडौँ, फल्गुन १७ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शीर्ष नेतृत्वबीच सहमति गराउने प्रयासमा तत्कालका लागि बैठक स्थगित गरिएको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिए ।
उनले भने, ‘सोमबार बसेको बैठकमा समावेशी र समानुपातिक प्रणालीको एजेन्डालगायत पार्टी भित्रका अन्य विवादलाई सहमतिमा सुल्झाउन नेतृत्वलाई समय दिएनका लागि बैठक तत्काल स्थगित गरिएको छ ।’
फागुन १३ गते ललितपुरको एक होटलमा बसेको बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीति परिस्थिति, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारिणी समितिमा पदपूर्ति, सरकार सहभागी मन्त्रीहरुको कार्य समीक्षालगायत ११ बुँदे एजेन्डा थिए ।

जसपा बैठकको मूल एजेन्डा समावेशी र समानुपातिक नेतृत्व प्रणालीको विषय रहेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच एजेन्डामा छलफल गरेर मात्रै बैठक राख्ने तयारी रहेको राईले बताए । ‘केही एजेन्डा बैठकमै सहमति भयो तर, केही एजेन्डामा अझै समय लाग्ने छ’, उनले भने,‘तीनै जना नेता छलफल गरेर बैठकमा आउनुहुनेछ ।’

जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुर पार्टीबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि उनको स्थान रिक्त थियो । विधानत: जसपामा दुई अध्यक्ष प्रणालीको व्यवस्था छ । त्यही रिक्त पदपूर्ति गर्न लामो समयदेखि जसपाका केन्द्रीय नेताले जोड दिँदै आएका छन् । जसपामा समानुपातिक र समावेशी सिद्धान्त अवलम्बन गराउने या नगराउने मुद्दामा पार्टीभित्रै दुई धार देखिएको छ । संघीय परिषद् अध्यक्ष भट्टराई पक्ष समावेशी नेतृत्व चाहन्छन् भने पार्टी अध्यक्ष यादव पक्ष एकल अध्यक्ष नै सफल हुने बताउँछन् ।

समावेशी नेतृत्वबारे शीर्ष नेतृत्वमा छलफल आवश्यक रहेकोले बैठक स्थगित गरिएको पार्टीकी कार्यकारिणी सदस्य दुर्गा सोवले बताइन् । ‘एजेन्डा थुप्रै छन्, छलफल गर्न तयारी पुगेन, त्यसैले बैठक स्थगित भएको हो,’ उनी भन्छिन्,‘कहिले बैठक हुन्छ, त्यो जानकारी अहिलेसम्म भएको छैन ।’ विधानको मर्मअनुकूल पार्टीलाई लैजानु पर्ने भन्दै भट्टराई पक्षले अडान लिइरहेका छन् ।

ठाकुरको रिक्त पदमा अशोक राईलाई लैजाने विषयमा छलफलसमेत भएको थियो । यस विषयमा यादव तटस्थ रहेको एक कार्यकारिणी सदस्यले बताए । बैठकमा सहभागी दलित समुदायका एक नेताले समावेशी भनेको जनजाति, खसआर्य र मधेसमात्रै नभएको बताए । उनले दलित समुदाय, मुस्लिम र महिलाको हकमा समावेशी पार्टीभित्र अपुरै रहेको सुनाए । ‘समावेशीमा लैंगिकता पनि त हुन्छ,’ एक कार्यकारिणी महिला सदस्य महिलाले भनिन्,‘उनीहरुको बहस पार्टीमा उठेकै छैन ।’

पार्टीकी कार्यकारिणी सदस्य सोवले पार्टीको विधान र स्वरुपअनुरुप समावेशी बनाउने विषयमा नेतृत्वमा बृहत् बहस भइरहेको बताइन् ।

Facebook Comments Box