एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सेयर गर्नुहोस

 


काठमाण्डाै – एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बालुवाटारमा संयुक्त बैठकअघि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टाछुट्टै छलफल गरेका छन् । दुवै दलको छलफलमा एमसीसी विवादबारे व्याख्यात्मक टिप्पणीसहितको सहमति खोज्नेबारे कुराकानी भएको छ ।

व्याख्यात्मक टिप्पणीमा के-के विषय समेटिन्छन् भन्नेबारे अन्तिम निर्णय सत्ता गठबन्धनको बैठकले गर्नेछ । संशोधनसहित सम्झौदा अनुमोदन पक्षमा आफूहरु पहिलेदेखि नै रहेको र बिहान बसेको दलको बैठकमा यहीबारे कुराकानी भएको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले बताउनुभयो । यसअघि हिजो बसेको सत्तारुढ दलको बैठकमा एमसीसी सम्झौतामा पूरक प्रस्तावसहित अनुमोदन गर्ने समझदारी भएको थियो ।

माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा व्याख्यात्मक घोषणा सहित संसदबाट पारित गर्न समझदारी बनेको हो । पूरक प्रस्तावसहित सम्झौता अनुमोदन हुँदा गठबन्धन पनि जोगिने र ‘फेस सेभिङ’ पनि हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बुझाइ छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभएमा गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने नेपाली कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल गर्ने तयारी छ । सत्ता गठबन्धन दलहरुबीच औपचारिक सहमति बनेमा आजकै बैठकमा पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके आजै र नसके भोलि अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ ।

Facebook Comments Box