बन्दुकको दम्भमा मधेशमा चुनाव गराउन खोजे देश अकल्पनिय द्वन्द्वमा फँस्ने चेतावनी: महतो

सेयर गर्नुहोस

चन्दन रौनियार
सर्लाही, १२ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताको माग सम्बोधन नगरी तीन ठूला दलले बन्दुकको दम्भमा मधेशमा चुनाव गराउन खोजे देश अकल्पनिय द्वन्द्वमा फँस्ने चेतावनी दिएका छन् ।
गृह जिल्ला सर्लाहीमा शनिवार प्रेस मञ्च नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । संविधान संशोधन बिना चुनाव गराए देशमा अकल्पनिय घट्ना हुने दावी गर्दैै उनले भने ‘बन्दुकको बलमा गरिएको चुनावलाई अन्तराष्ट्रिय निकायले समेत मान्दैन ।’
पटक–पटक सहमति र सम्झौताको नाउँमा ठूला तीन दलले मधेशी मोर्चालाई धोखा दिएको आरोप लगाउँदै जनता अधिकारको आन्दोनमा होमिएका बेला जबर्जस्ती नगर्न उहाँले तीन ठूला दललाई आग्रह समेत गरे । ‘लोकतान्त्रिक मुलुकको लागि चुनाव अपरिहार्य हो, मधेशी मोर्चाले पनि चुनाव चाहेको छ’ अध्यक्ष महतोले थपे ‘तर त्यसको लागि संविधान संशोधन गरी विगतको सम्झौता लागु गरे मात्र हामी नयाँ सम्झौतातर्फ जान्छौ ।’ अब आफूहरु लिखित सम्झौताको नाममा जालझेलमा नपर्ने भन्दै कार्यान्वयनमा देखिनुपर्ने उनले बताए ।
थ्रेस होल्ड लागु गर्नु जायज रहेको भन्दै थ्रेस होल्डले व्यक्तिगत स्वार्थ पुरागर्न खोलिएको पार्टीलाई तह लगाउने महतोले टिप्पणी गरे । अर्को प्रसङ्गमा उनले भने ‘जनसंख्याको आधारमा सिमाङ्कन हुनपर्छ तर मधेशमा केही नेताहरुले आफ्नो मनपरी ढङ्गले सिमांकन गरेको छ, जुन त्रुटीपूर्ण छ ।’
प्रेस मञ्च नेपाल सर्लाहीको अध्यक्ष चन्देश्वर यादव (चन्दु) को अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सद्भावना पार्टीका केन्द्रीय कोषाध्यक्ष अरुण कुमार सिंह, केन्द्रीय सदस्य डा.अब्दुर रहिम मिकरानी, केन्द्रीय सल्लाहकार समितिका सदस्य श्याम बाबु सिंह, जिल्ला अध्यक्ष प्रमोद साह, जिल्ला सचिव नागेश्वर साह, जिल्ला प्रवक्ता राजेश भण्डारी लगायतको उपस्थिति थियो ।

Facebook Comments Box