कांग्रेसलाई झलनाथ खनालकाे चेतावनी– ‘जबरजस्ती एमसीसी पारित गर्ने प्रयास नगर्नु’

सेयर गर्नुहोस

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको त्याे सम्झौता संशोधन नभइ पारित हुन नदिने आफ्नो पार्टीको अडानसमेत दोहोर्‍याउनुभयो ।

आज बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यो सम्झौतामा गम्भीर खालका राष्ट्रिय हित विपरीतका कुराहरू रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क गर्नुभयो ।

सम्मानित नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नदिन संसद्, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको हितलाई सर्वोपरि राखेर यो सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नै नदिइकन, राम्ररी अध्ययन नै नगरिकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझिकन र त्यसका दस्तावेजहरू राम्रोसँग अध्ययनसमेत नगरिकन नेपाली जनतालाई गुमराहमा राखेर यो सम्झौता गरिएको हो । यो सम्झौताभित्र गम्भिर र गम्भिरतम् राष्ट्रिय हित विपरीतका कुराहरू छन । त्यो कुरा नसच्चिकन एमसीसी पास हुन सक्दैन । कतिपय कुराहरू मिल्दैनन् । त्यसमा जबरजस्ती ठेल्न मिल्दैन । असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ? हुँदैन । यसको विरोध सरकारमा पनि हुन्छ । सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ ।’

सम्मानित नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताउनुभयो ।

Facebook Comments Box