एएफसी कप छनोट: मच्छिन्द्रले ब्लु स्टारविरुद्ध दशरथ रंगशालामा खेल्ने

सेयर गर्नुहोस

काठमाडौँ : एएफसी कप छनोटअन्तर्गत नेपाली क्लब मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारसँगको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ। बिहीबार एएफसीले मैदान र खेल समय तय गरेको हो।

५ अप्रिलमा दशरथ रंगशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ। जारी लिगका सातौं चरणसम्म शीर्ष स्थानमा रहँदै मच्छिन्द्रले पहिलोपटक एएफसी कप छनोटमा स्थान बनाएको थियो।

अहिले पनि लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ब्लु स्टारलाई पराजित गरेमा दोस्रो खेलमा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेल १२ अप्रिलमा कोलकातामा हुनेछ।

मच्छिन्द्रले मोहन बगानलाई पराजित गरेको खण्डमा भने समूह चरणमा स्थान बनाउने सम्भावना रहन्छ।

यदि मच्छिन्द्रले समूह चरणमा स्थान बनाएको खण्डमा समूह ‘डी’ मा भारतको गोकुलम केरला, बंगलादेशको वसुन्धारा किङ्स, माल्दिभ्सको मेजिया स्पोर्टस् एण्ड रिक्रियसनसँग प्रतिस्पर्धाको अवसर पाउनेछ।

पहिलो खेलमा मच्छिन्द्रले घरेलु समर्थकको साथ पाउने भएकाले स्वभाविक रूपमा मच्छिन्द्रले त्यसको फाइदा उठाउने सम्भावना बलियो रहन्छ।

एएफसी क्लब लाइसेन्स पहिलोपटक पाएको मच्छिन्द्र अघिल्लो सिजनको लिगमा विजेता बने पनि क्लब लाइसेन्स नहुँदा एएफसी कप छनोट खेल्न पाएको थिएन।

नेपालबाट उक्त समयमा क्लब लाइसेन्स पाउने एक्लो टिम बनेको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप छनोट खेलेको थियो।

Facebook Comments Box