एमसीसीबारे पत्राचार गर्ने देउवा र प्रचण्डलाई कारबाही गर्नुपर्छ : भीम रावल

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले सो बारे छानविन गर्न पनि समितिसँग आग्रह गरे ।नेता रावलले भने, ‘अहिले भर्खरै यो देशका प्रधानमन्त्री र एउटा पार्टीका नेता यो एमसीसीमार्फत कुटनीतिलाई कसरी कमजोर बनाउँदैछन् ? कूटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभिमानमाथि धक्का पुग्दैछ भन्ने ज्वलन्त नमूना हो यो । यो प्रधानमन्त्री शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल प्रचण्डजीले संयुक्त रुपमा लेखेको पत्र हो । यो अन्तराष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्छ । यसरी कुनै एउटा देशको प्रधानमन्त्रीलाई, एउटा पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्री भईसकेको व्यक्तिले यस्तो पत्र लेखेर हामी एमसीसी सम्झौतालाई अनुमोदन गर्नेछौं । हामीलाई समय दिनु प¥यो । यो एमसीसी सम्झौताबारे नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत हामी उपयोग गर्नेछौं भन्ने कुरा समेत विदेशलाई भन्ने भनेपछि हाम्रो कूटनीतिक कता गयो ? अनि यस्तो स्थितिमा कूटनीतिक क्षेत्रमा यो राजनीतिक र यस्तो ज्ञान भएको व्यक्तिलाई नियुक्ती गर्ने कुरा र कूटनीतिमा यस्ता राष्ट्रका स्वाभिमान झुक्ने अत्यन्त अमर्यादित कुराहरु । यो एकदमै आपत्तिजनक छ । यस्ता कुरा अन्तराष्ट्रिय सम्बन्ध समितिमा जानकारीमा आउनुपर्छ । अरु देशमा यस्तो भयो भने छानविन गरेर दण्डित हुनुपर्छ, यस्तो नेताहरु र प्रधानमन्त्रीहरु । प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर कुनै व्यक्तिलाई यस्तो पत्र लेख्ने अधिकार हुन्छ ? यो संसदकै एउटा महत्वपूर्ण समिति भएको हुनाले म यहीँबाट हाम्रो माननीय सभापति महादेयमार्फत यो प्रेषित हो्स–यसमा छानविन गरेर कारबाही हुनुपर्छ ।’
