प्रचण्डले नै एमसिसी भित्र्याएका हुन : अभियन्ता शाही

सेयर गर्नुहोस


काठमाडौं। सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलो पटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको सुनाएका हुन् ।

तत्कालीन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले संसद्बाट पारित गर्न भनेर पछि मात्र हस्ताक्षर गरेको उनले जिकिर गरे । उनले भने,‘नेपालमा एमसीसीको जग अरू कसैले नभई काँग्रेस र माओवादीले बसाएका हुन् ।’

‘नेपालमा पहिलो पटक एमसीसी भित्राउने प्रचण्ड नै हुन् । तर, तिनै प्रचण्डले कहिले एमसीसीको विरोध गर्छन् कहिले समर्थन गर्छन्’ कार्यक्रममा बोल्दै उनले भने,‘त्यस्तै एमालेले पनि हिजो सरकारमा हुँदा संसद्बाट पारित गर्न खोजेको थियो, आज विरोध गरिराखेको छ, यो नेताहरूको रङ भनेको छेपाराको रङ जस्तो हुने रैछ, हामी बुझ्नै सक्दैनौँ ।’

कसैलाई राजनीतिक फाइदा लिन, कसैलाई आर्थिक र कसैलाई काम मात्रै अट्काउन नेताहरूको सोचले नेपालीहरू यो अवस्थामा पुगेका उनले जिकिर गरे । देशको सबै जनता एमसीसीको विरुद्धमा हुँदाहुँदै पनि सरकारले पारित गर्न खोजेमा लोकतन्त्र र राज्य माथिको अपमान हुने उनको भनाई थियो । उनले भने,‘एमसीसीविरुद्ध यत्रा जनता हुँदाहुँदै पनि एमसीसी पास गरे लोकतन्त्र र राज्यमाथिको अपमान हुनेछ । एमसीसी साँच्चिकै राष्ट्रघाती हो ।’

देशलाई एमसीसीबाट आउने ५५ अर्ब रुपैयाँ धेरै ठुलो रकम नभएको भन्दै उनले पैसा नै चाहिएको भए नेपालमा भएका ठुला–ठुला घोटाला र काण्डहरूको छानबिन गर्न पर्ने बताए । शाहीले ६२ अर्बको एनसेल, ओम्नी, वाइड बडीलगायतका काण्डको अनुसन्धान गर्नुपर्नेमा सुनाएका थिए । त्यस्तै, विभिन्न सरकारी र संवैधानिक निकायका कर्मचारीको सम्पत्ति छानबिन गर्न सरकारसँग आग्रह गरे । यदि संसद्बाट एमसीसी पारित गरेमा अहिलेका पुस्ताले भन्दा पनि आउने सन्ततिले दुःख पाउने उनको भनाई थियो ।

जनताले भोट दिएकै कारण नेताहरूले आज देश बेच्न लागेको उनले सुनाए । नेपालका सबै जनतालाई एमसीसी बारे सत्य तथ्य जानकारी दिनुपर्ने उनले बताए ।
शाहीले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्बाट एमसीसी सम्झौता हटाउन पनि आग्रह गरे । काँग्रेस नेता स्व.कृष्णप्रसाद भट्टराईको स्मरण गराउँदै शाहीले उनकै जगमा हुर्केका-बढेका कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि पनि एमसीसी पारित गरे लगत्तै प्रश्न तेर्सिने बताए ।

कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई एमसीसीको बारेमा मौनता तोड्न शाहीले आग्रह गरे । बुढापाका भन्दा पनि युवा नेताहरूले देशको भविष्यको बारेमा सोच्न पर्ने उनको सुझाव छ । हाम्राकुराबाट

Facebook Comments Box