प्रतिवद्धता अनुरुप काम नभएकाले प्रचण्डलाई नैतिक संकट , पुन: एमसिसीकाे ताकेता

सेयर गर्नुहोस


काठमाडौं । झण्डै पाँच महिनाअघि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकालाई एमसीसी पास गर्ने प्रतिवद्धतासहितको पत्र पठाएकोमा त्यसअनुरुप काम नभएको भन्दै एमसीसी बोर्डले पुनः ताकेता गरेको छ । एमसीसीको यस्तो ताकेताले सबभन्दा बडी नैतिक संकट माओवादी अध्यक्ष प्रचण्डलाई परेको छ ।

एमसीसी बोर्डका कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले बिहीबार प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै जवाफी ताकेता पत्र पठाएका हुन् । पत्रमा अमेरिकाले एमसीसी संसद्बाट पारित गर्नका लागि आगामी फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्मको ‘डेडलाइन’ समेत तोकिदिएकोे छ । सो अवधिसम्म सरकारलाई सांसद तथा सत्तारुढ दलसँग छलफल गरेर एमसीसी पारित गर्न एमसीसीले पत्रमा दबावको शैलीमा आग्रह गरेको छ ।

एमसीसीले फागुन १६ को समय सीमा दिँदै एमसीसी पारित गर्न पत्र पठाएपछि प्रधानमन्त्री देउवा तरंगित बनेका छन् । आइतबार बिहानै माओवादी नेताहरुसँग सम्वाद गरेका देउवाले टेलिफोन गरेर एमाले अध्यक्ष केपी ओलीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । देउवा र ओलीबीचको छलफलमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुँदैछन् ।

माओवादीको भूमिकाप्रति असन्तुष्ट देखिएका प्रधानमन्त्री देउवाले ओलीलाई छलफलका लागि बालुवाटार बोलाएसँगै कतै सत्ता गठबन्धन टुट्ने र स्थानीय चुनावको साटो देश संसदीय चुनावतर्फ होमिने त होइन ? भन्ने राजनीतिक प्रश्नसमेत जन्मिन थालेको छ ।

Facebook Comments Box