प्रधानमन्त्री देउवासँग छलफल गर्न एमाले अध्यक्ष ओली दिउँसो बालुवाटार जाने

काठमाण्डाै –
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज आइतवार भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली दिउँसो ४ बजे बालुवाटार जान लाग्नुभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीलाई भेट्न बोलाएकाले उहाँ दिउँसो ४ बजे बालुवाटार जान लागेको बजगाँइले जानकारी दिनुभयो ।
अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिसक्न पत्र पठाएपछि प्रधानमन्त्री तत्कालै सम्झौता पास गर्ने तयारीमा हुनुहुन्छ तर सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले संशोधन गरेर मात्रै पास हुनुपर्ने अडान लिएपछि प्रधानमन्त्री देउवा अप्ठेराेमा हुनुहुन्छ ।
यस्तै सभामुख अग्नि सापकोटाले लगातार संसद् बैठक बस्ने मिति सारेको विषयमा पनि प्रधानमन्त्री देउवा असन्तुष्ट हुनुहुन्छ ।
